संयुक्त राष्ट्र संघले भनेको छ, सिरियाली शहर होम्सबाट थप बासिन्दाहरुलाई बाहिर निस्कन दिनका लागि त्यहां लागु अस्थायी युद्धविराम थप तीन दिन लम्बाउन सरकारी र विद्रोही सैन्यहरु सहमत भएका छन्।
होम्सको पुरानो शहरबाट जोखिममा रहेका चारसय पचासजना भन्दा बढी मानिसलाई सोमबार बाहिर निकालीएको थियो।
तर सहायता संगठनहरु उक्त शहरमा थप खानेकुरा र औषधिहरु पुर्याउन चाहन्छन् जहांको स्थिती चिन्ताजनक रहेको बताइएको छ।
सिरियाली सरकार र विद्रोही पक्षले स्वीट्जरल्याण्डमा दोस्रो चरणको शान्तिवार्ता गरेका समयमा त्यस्तो युद्धविराम लम्बाउने सहमति आएको छ।
संयुक्त राष्ट्रसंघकी मानवीय सहायता प्रमुख भ्यालरी एमोस ले भनिन्, जारी वार्ताहरुको परिणाम स्वरुप सिरियामा सरकारी सेनाको घेराबन्दीमा परेका स्थानहरुमा फसेका दशलाख मानिसहरुसम्म राहत सहायता पुर्याउन सकिन्छ भन्नेमा उनी आशावादी छिन्।
होम्स शहरका गभर्नरले सयौं महिला, बालबालिका र बृद्धबृद्धालाई उद्धार गरिने घोषणा गरेका छन्।
भ्यालरी एमोसले पहिले उद्धार गरिएकाहरु धेरैजसो महिनौंको नाकाबन्दी, बम हमला, खानेकुरा र औषधिको कमीका कारण कमजोर देखिएका बताएकीछिन्।
उद्धार कार्यका क्रममा भएको हमलामा एघार जनाको ज्यान गएको पनि उनले पुष्टि गरिन् तर त्यस्तो हमला कुन पक्षबाट भएको भन्ने चाहिं उनले उल्लेख गरिनन्।
स्वीट्जरल्याण्डमा राष्ट्रसंघको मध्यस्थतामा जारी शान्तिवार्तामा हिंसा र आतंकवाद रोक्ने र एउटा अन्तरिम सरकार गठन गर्ने विषयमा केन्द्रीत भई कुराकानी अगाडी बढाउने प्रयास भैरहेको छ। BBC