सत्तासाझेदार एमालेसँग दूरी बढिरहेका बेला एमाओवादीका पुष्पकमल दाहालद्धारा आवश्यक सहयोग गर्ने प्रधानमन्त्री सुशील कोइरालालाई वचन

काठमाडौं, फाल्गुन ३ – सत्तासाझेदार एमालेसँग दूरी बढिरहेकाबेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आवश्यक सहयोग गर्ने प्रधानमन्त्री सुशील कोइरालालाई वचन दिएका छन् ।
कोइराला निवास महाराजगञ्जमा शनिबार साँझ भएको भेटमा दाहालले अप्ठ्यारो परेको स्थितिमा सहयोग गर्ने वचन दिएका हुन् । दाहालले एमाले सरकार बाहिर रहेको अवस्थामा साझेदारीका लागि तयार रहेको संकेत गरेका स्रोतको दाबी छ ।
कोइरालाले भने सरकारमा रहे पनि नरहे पनि सहयोग गर्न दाहाललाई आग्रह गरे । ‘यो सरकारले पूर्णता पाए पनि नपाए पनि तपाईको सहयोग चाहिन्छ,’ कोइरालाले भनेका थिए ।
दाहालका स्वकीय सचिव चुणामणि खड्काले भने भेट समसामयिक राजनीतिक अवस्था, संविधानसभा निर्माण र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा केन्द्रित भएको जानकारी दिए । भेटमा दाहालले सरकारको पूर्णताको विषयलाई लिएर चासो राखेका थिए ।
‘सरकारले पूर्णता नपाउँदा राम्रो सन्देश गएन,’ दाहालको भनाइ उद्धृत गर्दै खड्काले ईकान्तिपुरसित शनिबार साँझ भने, ‘सरकार एमालेसँग मिलेर चलाउनुस्, संविधान निर्माणमा सहयोगी भूमिका निभाउँछौं ।’
खड्काका अनुसार वार्ताकाक्रममा केही समय कोइराला र दाहालमात्रै पनि बसे ।
कांग्रेस र एमालेबीच गृहमन्त्रालयबारे दूरी बढिरहेका बेला कोइराला र दाहालबीच ‘समयसामयिक’ राजनीतिबारे कुराकानी भएको हो । कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुई नेताबीच पहिलोपटक राजनीतिक छलफल भएको हो ।
 
EKANTIPUR
 
प्रकाशित मिति: २०७० फाल्गुन ३