नेपाल भ्रमणमा आएका भारतीय नेता करण सिंहले यसपटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । पूर्वराजा शाहसँग गोप्य भेटवार्ता गरेका सिंह आइतबार नै स्वदेश फर्किसकेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालासँगको औपचारिक भेटपछि सिंह निर्मलनिवास पुगेका थिए । त्यहाँ करिब एक घन्टा कुराकानी गरेका सिंह त्यसपछि सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
स्रोतका अनुसार, भेटमा राजतन्त्रको विघटन भएयतादेखिको राजनीतिक परिस्थितिबारे कुराकानी भएको थियो । दुवैले सहयोगीविना कुराकानी गरेका थिए । स्रोतका अनुसार सिंहसितको कुराकानीमा पूर्वराजा ज्ञानेन्द्रले हिन्दूधर्मबारे बढी चिन्ता व्यक्त गरेका थिए । हिन्दूराष्ट्रको पुनस्र्थापना हुनुपर्नेमा उनको जोड थियो । भारतको राज्यसभा सदस्यसमेत रहेका सिंहले पनि नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापना हुनुपर्ने धारणा राख्दै आएका छन् ।
राजसंस्था पुनस्र्थापनाको विषयमा भन्दा पनि हिन्दूराष्ट्र पुनस्र्थापनाको विषयमा शाह बढी चिन्तित भएको स्रोतको भनाइ छ । राजतन्त्रको अन्त्यपछि मुलुकमा झनै अन्योलता बढेको र देशले गति लिन नसकेको पूर्वराजाले बताएको स्रोतको भनाइ छ । नेता सिंहले निर्मल निवासमै ब्रेकफास्ट पनि गरेका थिए ।
०६१/ ६२ को जनआन्दोलन उत्कर्षमा पुगेका वेला सिंह नेपाल आएका थिए । उनकै पहलमा पूर्वराजा ज्ञानेन्द्र र दलका नेताबीच सहमति भएको थियो । सहमतिपछि पूर्वराजा शाहले प्रतिनिधिसभा पुनस्र्थापना गरेका थिए भने तत्कालीन नेकपा ९माओवादी० सहितको प्रतिनिधिसभाले राजाका सबै अधिकार कटौती गरेको थियो । संविधानसभाको निर्वाचनपछि गणतन्त्र कार्यान्वयन गरिएको थियो ।
गत महिना भारत गएका वेला पूर्वराजाले सिंहसँग भेटवार्ता गरेका थिए । त्यसवेला नै सिंहको नेपाल भ्रमण तय भएको स्रोतको भनाइ छ । SETOPATI