कांग्रेसद्धारा गृहमन्त्रालयको विवाद थाँती राखेर सानो आकारको मन्त्रिपरिषद् गठनका लागि एमालेसंग नाम माग

काठमाडौ, फाल्गुन ७ – नेपाली कांग्रेसले गृहमन्त्रालयको विवाद थाँती राखेर सानो आकारको मन्त्रिपरिषद् गठनका लागि एमालेसंग नाम मागेको छ । गृहमन्त्रालयको विवादले सरकार बिस्तार अवरुद्ध हुँदा दैनिक प्रशासन संचालन गर्न कठिनाई परेको जनाउदै प्रधानमन्त्री सुशील कोइरालाले एमाले नेताहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका हुन् ।
तर, एमालेले संविधानसभा अध्यक्षमा कांग्रेसले सघाए पनि पूर्वसहमति अनुरुप गृहमन्त्रालय नपाए सरकारमा नजाने बताएको छ । संविधानसभाका अध्यक्षको निर्वाचन हुनुअघि दुई दलका नेताबीच सामान्य छलफल भएको थियो । त्यसमा गृहमन्त्रालको विवाद मिलाउने विषयमा कुरा नभएको एमालेका एक नेताले बताए । ‘संविधानसभा अध्यक्षको प्रस्तावक र समर्थकको विषयमा मात्रै कुराकानी भएको हो, ती नेताले भने, मन्त्रालयको बाँडफाँडलगायतमा केही कुराकानी भएन ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले गृहमन्त्रालयको विवाद तत्काल नमिले पनि दैनिक प्रशासन संचालनका सानो आकारको मन्त्रिपरिषद गठन गर्न बिहिबारसम्म नाम दिन एमाले संसदीय दलका नेता केपी ओलीसंगको भेटमा आग्रह गरेका थिए । ओलीले पुरानो सहमतिविपरित जान नसक्ने जवाफ दिएका थिए । एमालेले स्थायी समितिले गृहमन्त्रालय दिने सहमति कार्यन्वयन नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय गरीसकेको छ । एमालेले केन्द्रीय समितिको बैठक समेत बोलाईसकेकाले त्यसअघि थप निर्णय गर्न नसक्ने जनाएको छ ।
कांग्रेस वार्ता समितिका सदस्य दीपकुमार उपाध्यायले एमालेलाई फागुन ८ गते सम्म मन्त्रीहरुको नाम दिन आग्रह गरिएको बताए । एमाले सरकारमा नआए ८ गते नै कांग्रेसले आफ्ना तर्फबाट सानो आकारमा मन्त्रिपरिषद बिस्तार गर्ने योजना रहेको उपाध्ययाले बताए । ‘एमालेलाई सरकारमा आउन असर नपुर्‍याउने गरी सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उपाध्यायले भने, ‘त्यसैदिन एमालेलाई पनि मन्त्रिहरुको नाम पठाउन आग्रह गरेका छौ ।’
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन ७