भारतमा राजीव गान्धीको हत्यारालाई जन्मकैद

राजीव गान्धीको हत्यारालाई जन्मकैद
भारतको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्नहरुलाई दिइएको मृत्युदण्डको सजायलाई आजीवन काराबासमा बदलेको छ । राजीव गान्धी हत्याकाण्डमा सन्थन, मुरुगन र पेरारीवालनविरुद्ध सन् १९९८ मा मृत्युदण्डको सजाय सुनाएको थियो ।
त्यसपछि उनीहरुले सन् २००० मा राष्ट्रपतिसमक्ष आममाफीका लागि निवेदन दिएका थिए । तर, ११ वर्षपछि राष्ट्रपतिले उनीहरुको निवेदन खारेज गरेका थिए । सन् २०११ मा मृत्युदण्ड दिइनुपर्ने भएपनि मद्रास उच्च न्यायालयले उनीहरुको मृत्युदण्ड कार्यान्वयनमा रोक लगाएको थियो ।
त्यसपछि यो विषय सर्वोच्च अदालतमा विचाराधीन थियो । एम्नेष्टी इन्टरनेसनलले सर्वोच्चको फैसलाको स्वागत गरेको छ । गान्धीको सन् १९९१ मा तमिलनाडुको एक चुनावी र्‍यालीका क्रममा गराइएको आत्मघाती आक्रमणमा मृत्यु भएको थियो ।
संथन, मुरुगन र पेरारीवालन श्रीलंकाको तमिल विद्रोही संगठन लिट्टेका सदस्थ थिए । श्रीलंकामा तमिल राष्ट्रको लागि सशस्त्र संघर्ष गरेको लिट्टेमाथि सन् २००९ मा श्रीलंकन सेनाले विजय हासिल गरेको थियो ।
राजीव गान्धी प्रधानमन्त्री भएको समयमा सन् १९८७ मा भारतीय सेना पठाएको विरोधमा उनको हत्या गरेको मानिन्छ । तर, लिट्टेले राजीव गान्धीको हत्याप्रति पछुतो जनाएको थियो । (एजेन्सी)