फाल्गुन ७ । आज ६४ औं प्रजातन्त्र दिवस । बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यभई प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र प्राप्तिको लडाईमा शहीदहरु धर्मभक्त, दशरथ चन्द, गंगालाल र शुक्रराज शास्त्रीको योगदान सदा स्मरणीय रहेको छ ।
उनीहरुलाई विक्रम सम्वत् १९९७ सालमा तात्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । प्रजातन्त्रप्राप्तिको लडाईमा मूख्य गरी तत्कालीन प्रजा परिषद र नेपाली कांग्रेसले ठूलो भूमिका खेलेका थिए ।
यसैबीच राष्ट्रपति डा रामवरण यादवले ६४औं प्रजातन्त्र दिवसको अवसरमा देश बिदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिंदै नेपाल र नेपाली जनतालाई पहिलो पटक आधुनिक र लोकतान्त्रिक जीवन पद्धतीको मार्गदिशा प्रदान गर्नु आजको दिनले २००७ सालको ऐतिहासिक परिवर्तनलाई स्मरण गराउन विशेष महत्व राख्ने बताएका छन् ।
उपराष्ट्रति परमानन्द झाको शुभकामना सन्देशमा लोकतन्त्रको संस्थागत सुदृढीकरण एवं संवद्र्धनका लागि सबै नेपालीको ऐक्यबद्धता, समझदारी र सहयोगको आह्वान गरिएको छ ।
त्यस्तै प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनको परिणामस्वरुप संघीयता, गणतन्त्र, धार्मिक स्वतन्त्रता, मावनअधिकार, सामाजिक न्याय समावेशिता र सहभागितामूलक शासन प्रणाली प्राप्त भएको सन्देशमा उल्लेख गरेका छन् ।
त्यस्तै पूर्व राजा ज्ञानेन्द्रले पनि प्रजातन्त्र दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिदै प्रजातन्त्रमा सबैको समान अवसर, समान कदर र समान प्रकारको विवेक र पौरख हुने उल्लेख गर्दै प्रजातान्त्तिक शासन पद्धतिलाई जनताको सुख, शान्ति र समृद्धितर्पm उन्मुख गराउन मुलुकमा उपुक्त विधि, नीति र पद्धति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालमा गणतन्त्र आएपछिका केही बर्ष प्रजातन्त्र दिवस मनाउने कुरामा विवाद भई यो दिवस ओझेलमा परे पनि सरकारीस्तरमै मनाउने क्रम फेरि सुरु भएको छ । यसैबीच ६४ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइंदैछ ।
हिजो बसेको मन्त्रीपरिषदको बैठकले ६४ औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो । यसैबीच प्रजातन्त्र दिवसकै दिन पारेर २१ बर्ष अघि स्थापना भएको कान्तिपुर पब्लिकेशसनले आज बार्षिकोत्सव मनाउंदैछ । IMAGECHANNELS