काठमाडौ, फाल्गुन ९ – १८ औं सार्क सम्मेलन मंसिरमा हुने भएको छ । आयोजना गर्ने जिम्मा पाएको नेपालले माल्दिभ्सको बान्दोज आइल्यान्डमा आयोजित सार्कमन्त्री परिषद्को ३५ औं बैठकमा बिहीबार औपचारिक रूपमा यसको प्रस्ताव गरेको हो ।
नेपाली टोलीको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले मंसिरमा सम्मेलन गर्ने प्रस्ताव गर्दा सबै सदस्य मुलुकले समर्थन गरेका थिए । सकेसम्म मंसिर पहिलो साता नभए दोस्रो साता सम्मेलन गर्ने नेपाली अधिकारीले जनाएका छन् । १८ औं सार्क सम्मेलन काठमाडौमा हुने छ ।
बैठकले सार्कका नयाँ महासचिवमा प्रस्तावित अर्जुनबहादुर थापालाई अनुमोदन गरेको छ । उनले १२ औं महासचिवका रूपमा यही फागुन १७ देखि कार्यभार सम्हाल्नेछन् ।
उनी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए । नेपालले दोस्रो पटक सार्क महासचिवको जिम्मेवारी सम्हाल्न लागेको हो ।
EKANTIPUR