सहमतिपछि कांग्रेस-एमालेका मन्त्रीहरुको सपथ

काठमाडौं, फाल्गुन १२ – कांग्रेस-एमालेका मन्त्रीहरुको सपथ मंगलबार बिहान हुने भएको छ ।
सत्तासाझेदार प्रमुख दुई दल कांग्रेस र एमालेले मन्त्री चयनमा सहमति जुटाउन नसक्दा एक दिन पछि सरेको हो । कांग्रेसले पार्टीका तर्फबाट ९ जना मन्त्रीको टुंगो करिव करिव लगाएको छ भने एमालेले मापदण्ड भएको छ ।
कांग्रेस संस्थापन समूहबाट महामन्त्री प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, नारायण खड्का, पद्मनारायण चौधरी तथा देउवा पक्षबाट विमलेन्द्र निधि, चित्रलेखा यादव, एनपी साउद र टेकबहादुर गुरुङको नाममा सहमति जुटेको छ । महतले यसअघि नै बिनाविभागीय मन्त्रीको सपथ लिइसकेका छन् ।
स्रोतका अनुसार महामन्त्री सिंह उपप्रधान र स्थानीय विकास मन्त्री हुने सम्भावना बढी छ । सिंहले रक्षा मन्त्रालय सम्हाल्ने स्थिति भए महत बाहिरिनेछन् । अन्यथा महतले रक्षा सम्हाल्ने तयारी छ ।
महेश आचार्यले अर्थ, नरहरि आचार्यले सञ्चार, खड्काले कानुन, चौधरीले श्रम, साउदले शिक्षा र विमलेन्द्रले भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउने निश्चितप्रायः रहेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मन्त्रालयको जिम्मेवारीमा सहमति जुटाएको हो । नेता शेरबहादुर देउवा समूहले आफ्नो भागमा परेका चार मन्त्रीको सिफारिस सोमबार बिहानै गरेको थियो ।
एमालेले उपप्रधानसहित गृह मन्त्रालयमा वामदेव गौतमलाई पठाउने निर्णय यसअघि नै गरेको थियो । मन्त्री छान्न धापासीस्थित ग्रान्डी होटलमा बसेको एमाले स्थायी कमिटी बैठकले संयोजन जिम्मा गौतमलाई दिएको छ ।
संसदीय दलका नेता केपी शर्मा ओली उपचारकाक्रममा रहेकाले ग्रान्डी अस्पतालमा नै बैठक बोलाइएको थियो ।
एमालेले सोमबार नै सपथ गर्ने स्थितिमा एमालेका भागमा परेका मन्त्रालय जिम्मा लिएर गौतमको सपथ गराउन आग्रह गरेको थियो । एमाले निर्णय बोकेर वार्ता टोली संयोजकसमेत रहेका गौतम र सचिव विष्णु पौडेल बालुवाटार गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले मंगलबार बिहान नै कांग्रेस र एमालेका सवै मन्त्रीहरुको सपथ एकैपटक गराउने जवाफ दिए ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन १२