राष्ट्रपतिको कार्यालय शीतल निवासमा नेपाली कांग्रेस र एमाले मन्त्रीहरुको सपथ ग्रहण सम्पन्न भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा.रामवरण यादवको उपस्थितिमा सपथ गराएका हुन्।
कांग्रेस र एमालेबाट मन्त्री भएका १८ जना मन्त्रीहरुलाई कोइरालाले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
कांग्रेसबाट मन्त्री भएका ८ जना र एमालेबाट मन्त्री भएका १० जनाले आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।
लामो विवाद पछि आज कोइराला मन्त्रिमण्डलले पूर्णता पाएको हो।
आज सपथ लिनेमा कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंह उपप्रधानसहित स्थानीय विकास, विमलेन्द्र निधि भौतिक योजना, चित्रलेखा यादव शिक्षा, रामशरण महत अर्थ, मीनेन्द्र रिजाल सञ्चार, नारायण खड्का सहरी विकास, महेश आचार्य वन, नरहरि आचार्य कानुन, एनपी साउद सिँचाइ मन्त्री रहेका छन्।
एमालेबाट बामदेव गौतम गृहमन्त्री, महेन्द्र पाण्डे परराष्ट्रमन्त्री, राधा ज्ञवाली उर्जा मन्त्री, पुरुषोत्तम पौडेल युवा तथा खेलकुद मन्त्री, हरि पराजुली कृषिमन्त्री, लालबाबु पंडित सामान्य प्रशासन मन्त्री, कर्णबहादुर थापा उद्योग मन्त्री, भिम आचार्य पर्यटन मन्त्री, खगराज अधिकारी स्वास्थ्य मन्त्री, दलबहादुर राना भूमिसुधार मन्त्री रहेका छन्।
कांग्रेसबाट रामशरण महतले यसअघि नै विनाविभागीय मन्त्रीका रूपमा सपथ लिइसकेका छन् । यस्तै कांग्रेसकै श्रम तथा वैदेशिक रोजगार राज्य मन्त्री बनेका टेकबहादुर गुरूङको सपथ भने राष्ट्रिय योजना आयोगको हल सिंहदरबारमा सपथ लिनेछन् ।
शीतल निवासको चियापान समारोहमा सिरक भएपछि नवनियुक्त मन्त्रीहरुले आजै आ-आफ्नो मन्त्रालयमा बहाली हुनेछन्।
सरकारमा सामेल हुने सहमति जनाइसकेका राप्रपा र मालेले भने आज मन्त्री पठाएनन्। RSS, SETOPATI