इजिप्टमा आंतकवादी समूहसँग साँठगाँठ गरेको आरोपमा २६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीहरुमाथि स्वेज नहरको प्रयोग गरेका जहाजमा आक्रमण गर्न आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाइएको थियो ।
अदालतले ती २६ जनामाथि मिसाइल र विष्फोटक पदार्थ निर्माण गरेको आरोप पनि लगाएको छ । अभियुक्तहरुको उपस्थिति बिनै अदालतले निर्णय सुनाएको बीबीसीले जनाएको छ ।
२६ जना विरुद्धको सजायलाई इजिप्टको उच्च इस्लामिक अधिकारीहरुको मुफ्टी नामक निकायले वैधानिकता दिन बाँकी छ । नवनियुक्त प्रधानमन्त्री इब्राहिम माहलावले आतकंवाद विरुद्ध सशक्त कारवाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको दोस्रो दिन नै आंतंकवादी गतिविधिमा संलग्न विरुद्धको अदालती फैसला आएको हो । (एजेन्सी)