काठमाडौं, फाल्गुन १५ – मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेस र एमालेले दलित र मुसलमानलाई नसमेटेको भन्दै अधिकारकर्मीले आपत्ति जनाएका छन् । दलित नागरिक आन्दोलन र मुस्लिम नागरिक समाजले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी सरकारमा नसमेटेर आफूहरूलाई विभेद गरेको बताए ।
दलित आन्दोलनकी नेतृ दुर्गा सोबले दलहरूले आफ्नो प्रतिबद्धता व्यवहारमा उतार्न नसकेर समावेशिताको खिल्ली उडाएको उल्लेख गरिन् । ‘ठूला भाषण गर्ने दलले नै दलितलाई विभेद र पाखा लगाउँदै जाँदा समावेशीको नारा सेलाएर जान्छ,’ उनले भनिन् ।
मुस्लिम नागरिक समाजका अध्यक्ष मसरुद्दिन अन्सारीले पहिलो र दोस्रो बनेका दलहरूले नै मुसलमान र पिछडिएको समुदायलाई नसमेट्दा नकारात्मक सन्देश गएको बताए । ‘चर्का कुरा गरेर नथाक्नेले फेरि कुठाराघात गरे,’ उनले भने, ‘यसले सिंगो मुसलमान समुदायका मतदाताको अपमान भएको छ ।’ गोरखा मुस्लिम युवा समाजले पनि मुसलमान समुदायलाई नसमेटेकामा विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।
Ekantipur
प्रकाशित मिति: २०७० फाल्गुन १५