प्रधानन्यायाधीश पदका लागि सर्वाेच्चमा कार्यरत वरिष्ठतम ५ न्यायाधीशको नाम सिफारिस

काठमाडौ, फाल्गुन २० – न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वाेच्चमा कार्यरत वरिष्ठतम ५ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ ।
परिषद्को सोमबार बसेको बैठकले कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, वरिष्ठतम न्यायाधीश रामकुमार शाह, कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीलाई सिफारिस गरेको हो । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नयाँ सरकार गठन भएपछि सिंहदरबारबाट बाहिरिँदा प्रधानन्यायाधीश पदबाट पनि राजीनामा दिएपछि रिक्त पदमा पूर्ति गर्न नवगठित संसद्ले सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
न्यायपरिषद्ले पठाएका नाममध्येबाट संसद्को सिफारिसमा संवैधानिक परिषद्ले नियुक्ति गर्नेछ । छिट्टै नै यी नामहरूमाथि संसदीय सुनुवाइ हुनेछ ।
संसद् नहुँदा सर्वाेच्चमा लामो समयदेखि स्थायी न्यायाधीशको नियुक्ति हुन सकेको छैन । केही सातापछि सर्वाेच्चका ५ अस्थायी न्यायाधीशले अवकाश पाउँदैछन् । त्यसपछि ५ जना मात्र बाँकी हुनेछन् ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन २०