युक्रेनको दक्षिणी क्षेत्र क्राइमियाका सांसदहरुद्धारा रुसको एक भाग हुने प्रस्तावको पक्षमा मतदान

फाल्गुन २२ । युक्रेनको दक्षिणी क्षेत्र क्राइमियाका सांसदहरुले रुसको एक भाग हुने प्रस्तावको पक्षमा मतदान गरेका छन् । यो निर्णयका सम्बन्धमा १० दिनभित्र जनमत संग्रह गर्ने निर्णय पनि क्राइमियाको संसदले गरेको छ ।
त्यहाँको संसदले औपचारिक रुपमा क्राइमिया रुसमा गाभिनका लागि आवश्यक प्रक्रिया सुरु गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेको  छ ।
युक्रेनको अन्तरिम सरकारले भने क्राइमिया रुसमा सामेल हुने निर्णय असम्बैधानिक भएको जनाएको छ । क्राइमियाको संसदले गरेको निर्णयबारे मस्को जानकार रहेपनि यसबारे कुनै भनाइ आएको छैन् ।
यरोपियन युनियनका नेताहरु क्राइमियामा रुसी सेना परिचालन विरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा आपत्कालीन सम्मेलनमा जुट््दै गर्दा क्राइमियाको संसदले यो घोषणा गरेको हो । युक्रनेमा रुस समर्थित भिक्टर यानोकोभिचलाई अपदस्त गरेपछि रुसी भाषी क्षेत्र क्राइमिया, रुस र युक्रेनबीच विवादको केन्द्रमा छ ।
पूर्वी यूरोपेली मुलुकहरु रुस विरुद्ध कडा नाकाबन्दी लगाउने पक्षमा छन् भने जर्मनी लगायतका मुलुकहरु मध्यमार्गी बाटो अबलम्बन गर्नुपर्ने पक्षमा छन् । ब्रसेल्लस्मा हुने सम्मेलनमा युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्यु पनि सहभागि हुने बताइएको छ ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले युरोपेली मुलुकहरुसँगको गठबन्धनले रुसी राष्ट्रपति पुटिनलाई क्राइमिया अतिक्रमणको मूल्य चुकाउनु पर्ने परिस्थिति निर्माण गर्ने विश्वास व्यक्त गर्नु भएको बीबीसीले जनाएको छ ।
सम्मेलन पूर्व इयुले यानोकोभिचसहित १८ पूर्व अधिकारीको सम्पति रोक्का गरेको जनाएको छ । यानोकोभिज अपदस्थ भएपछि क्राइमिया प्रायद्विप अहिले रुसी सेनाको नियन्त्रणमा छ । एजेन्सी