फाल्गुन २७ । पाकिस्तानको गृह मन्त्रालयले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई आतंकवादी संगठनबाट खतरा रहेको जनाएको छ । मन्त्रालयले अल कायदा या तहरिक-ए-तालिवान जस्ता संगठनबाट मुशर्रफलाई ज्यानको खतरा रहेको उल्लेख गरेको छ ।
पूर्व सैनिक शासक मुशर्रफलाई सुरक्षा एजेन्सीभित्रै रहेका चरमपन्थी विचारधाराका मानिसबाट निशाना बनाइन सक्ने मन्त्रालयको आशंका छ । राज्यद्रोह लगायतका विभिन्न मुद्दाको सामना गरिरहेका मुशर्रफलाई अदालत परिसरभित्र वा बाहिर आक्रमण हुन सक्ने या उनी हिड्ने बाटोमा बम राखिन सक्ने समेत जनाइएको छ ।
मुशर्रफका वकिलले अदालतबाट उनको सुरक्षाको ग्यारेण्टीपछि मात्र अदालत जाने बताएका छन् । उनले मुशर्रफमाथिको खतरालाई अदालत र सरकार दुवैले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।
त्यहाँको गृह मन्त्रालयलाई गुप्तचर निकायबाट मुशर्रफमाथिको खतराबारे जानकारी प्राप्त भएको जनाइएको छ । (एजेन्सी)