विराटनगर, फाल्गुन २८ – दलित महिलामाथि यातना घटनामा अदालतले नौजनालाई जरिवाना गरेको छ । जिल्ला अदालत मोरङको मंगलबारको फैसलाअनुसार जातीय विभेद तथा छुवाछूतविरुद्ध चलेको उक्त मुद्दाका विपक्षीमध्ये नौ जनालाई जनही १५ हजारका दरले जरिवाना गरिएको छ भने आठ जनाले सफाइ पाएका छन् ।
घटनाबाट पीडित दुई जनालाई जनही २५ हजारका दरले क्षतिपूर्ति दिनु भन्ने आदेश अदालतले सुनाएको छ । जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले उक्त फैसला सुनाएको हो ।
घटनाका दोषी मोरङ बेलबारीका जीवन, अमित, सेविका, चन्द्रकला र अम्बिका भेटवालका साथै भोजराज, नरेन्द्र, राजु बस्नेत र कविन्द्र प्रसाईंलाई जनही १५ हजारका दरले जरिवाना गरेको छ । घटनामा संलग्न भनिएमध्येका अन्य आठजनाले सफाइ पाएका छन् । गत साउन ६ गते साँझ बजारबाट घर फकर्ंदै गरेकी बेलबारी ३, करमडाँडाकी माया सार्कीलाई अज्ञात व्यक्तिले जबरजस्ती बलात्कार गर्ने प्रयास गर्न खोजेको भन्ने विषयलाई लिएर विवाद भएको थियो । मायाले स्थानीय भेटवाल परिवारका एक सदस्यजस्तो लागेको आरोप लगाएकी थिइन् । आरोप पुष्टि हुन नसकेपछि भोलिपल्ट स्थानीयले मायालाई सार्वजनिक स्थलमा बोलाई मोसो दल्नुका साथै कुटपिट गर्दै जुत्ताको माला लगाएका थिए । साथै दलित अगुवा मनोज विकलाई पनि मोसो दलेर जुत्ताको माला लगाउनुका साथै कुटपिटसमेत गरिएको थियो । अदालतले दुवै जना पीडितलाई विपक्षीबाट असुल गरी जनही २५ हजारका दरले क्षतिपूर्ति दिनेसमेत फैसला गरेको छ ।
उक्त घटनाका आरोपीविरुद्ध पीडित पक्षले सार्वजनिक अपराध, जातीय छुवाछूत, विद्युतीय ऐन र जबरजस्ती करणीसहित चार मुद्दा दर्ता गराएका थिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन २८