धनुषाको देउरीमा पूजाको प्रसाद खाएका दुई जनाको मृत्यु

जनकपुर, फाल्गुन ३० – धनुषाको देउरी परवाहा-८ विन टोलमा पूजाको प्रसाद (खीर-पुरी) खाएका दुई जनाको मृत्यु भएको छ । १२ जना बिरामी परेका छन् । सिकिस्त तीन जनालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
देउरी परवाहा-८ बिनटोलीमा सोमबारयता ५५ वर्षीय सिघेश्वर मुखिया र ४५ वर्षीय शिवशरण मुखियाको मुत्यु भएको हो । सोही वडा बस्ने पानो देवी, प्रमिला देवी, संजिता देवी, लखिया देवी, सुइया देवी, पुनिता देवी, कुन्ती देवी तथा बुधो देवी मुखियालगायत बिरामी छन् । सिकिस्त रहेका पुनम देवी, बोधो र पानो देवीलाई सघन अञ्चल अस्पताल भर्ना गराइएको देउरी परवाहा स्वास्थ चौकीका हेल्थ असिस्टेन्ट रामबाबु ठाकुरले जनाए । शिवशरण मुखियाको बुधबार तथा सिंहेश्वर मुखियाको सोमबार मृत्यु भएको थियो । ५२ घरधुरी विन (मलाह) को बस्ती रहेको देउरी परवाहा ८ विन टोलमा गत सोमबार भुँइया महराज (लोक देवता) को पूजा थियो । टोलवासीले सामूहिक रूपमा गरेको पूजाको प्रसादका रूपमा खीर-पुरी खाएपछि उनीहरूको पेट दुख्ने, वाकवाकी हुने, रिंगटा लाग्ने भएको स्थानीय जयकरण मुखियाले जनाए ।
प्रसादले बिरामी परेपछि गाउँवासी डराएर भाग्न थालेका छन् । गाउँको सिमाना बाहिर पुग्नेबित्तिकै रोग निको हुने अन्धविश्वासका कारण उनीहरू भागेका हुन् ।
कक्षा ८ मा अध्ययनरत १६ वर्षीय जयकरणले भने, ‘गाउँलेहरू आफ्नो गाउँको सीमाबाहिर अरू नै गाउँमा भाग्न थालेका छन् । अस्पतालमा भर्ना गराइएकी एक महिलासमेत यहाँबाट भागेकी छन् ।’
वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम नायकका अनुसार बिरामीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थल पठाइएको छ । सामान्य प्रकृतिका रोगीहरूलाई घटनास्थलमै र सिकिस्तहरूलाई अञ्चल अस्पताल ल्याइँदै छ । नायकले बिरामीहरूलाई स्वास्थ्य केन्द्रमा मात्र उपचार गराउन आग्रह गरेका छन् । इलाका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट रामबाबु ठाकुरले खीर-पुरी खाँदा फुडप्वाइजनिङ भएको हुन सक्ने अनुमान गरे ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन ३०