बिम्स्टेकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मा भ्रमण गर्दा प्राप्त गरेको भ्रमणभत्ता प्रधानमन्त्री सुशील कोइरालाद्धारा फिर्ता

काठमाडौ, फाल्गुन ३० – प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यान्मा भ्रमण गर्दा प्राप्त गरेको भ्रमणभत्ता फिर्ता गरेका छन् ।
बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिनजाँदा उनले नियमानुसार प्राप्त ६ सय ५० अमेरिकी डलर अर्थात करिब रु ६३ हजार ४२७ परराष्ट्र मन्त्रालयलाई आज फिर्ता गरेका हुन् ।
प्रधानमन्त्रीले फिर्ता गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कोइराला यही फागुन २० गते म्यान्माको राजधानी नेपिटमा सम्पन्न शिखर सम्मेलनमा भाग लिन सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँबाट प्रस्थान गरेका थिए । रासस
 
प्रकाशित मिति: २०७० फाल्गुन ३०