अमेरिकी विदेश मन्त्री युक्रेनको समस्या समाधान खोज्न बेलायतमा

फाल्गुन ३० । अमेरिकी विदेश मन्त्री युक्रेनको समस्या समाधान खोज्न बेलायत पुगेका छन् । बेलायतमा रहेका रुसी समकक्षी सर्गेई लाभारोभलाई भेट्न केरी लण्डन पुगेका हुन् । लाभारोभसँगको भेटमा केरीले युक्रेनका क्राइमियामा रुसले चालेको कदम सच्याउन आग्रह गर्ने जनाइएको छ ।
रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा आफूले युद्ध नचाहेको स्पष्ट पारे लगत्तै अमेरिकी विदेशमन्त्री केरी रुसी समकक्षीलाई भेट्न बेलायत पुगेका हुन् । रुसी समकक्षीलाई भेट्नुअघि अमेरिकी विदेशमन्त्री केरीले बेलायती प्रधानमन्त्री डेविड क्यामरुनसँग भेटवार्ता गरेका छन् ।
त्यस क्रममा बेलायती प्रधानमन्त्री क्यामरुनले रुस र युक्रेनबीच क्राइमिया प्रायद्वीपबारे सम्झौता नभए दुबै देशले ठ्लो घाटा ब्यहोर्नुपर्ने प्रतिक्रिया दिएका जनाइएको छ । युक्रेनको दक्षिणी क्षेत्र क्राइमियामा आगामी आइतबार क्राइमियालाई रुसमा गाभ्ने कि नगाभ्ने भन्ने विषयमा जनमत संग्रह हुँदैछ ।
क्राइमियाको संसदले यसअघि नै रुसमा गाभिने पक्षमा मतदान गरिसकेको छ । क्राइमियालाई रुसमा गाभ्ने प्रक्रियाको विरोमा रहेका अमेरिका र युरोपेली राष्ट्रहरुले आइतबार हुने जनमत संग्रहलाई पनि अवैध भनिसकेका छन् । (एजेन्सी)