बेपत्ता मलेसिया विमानको सञ्चार उपकरण र उडानको दिशालाई जानाजान अयोग्य बनाउन खोजिएको तथ्य पत्ता

चैत्र १ । मलेसियाका प्रधानमन्त्री नजीब रज्जाकले गत शनिबारदेखि बेपत्ता मलेसिया एअरलाइन्सको एम एच ३७० विमानको सञ्चार उपकरण र उडानको दिशालाई जानाजान अयोग्य बनाउन खोजिएको तथ्य पत्ता लागेको बताएका छन् । आज एक पत्रकार सम्मेलनमा बोल्दै उनले विमानको सेटेलाइट र राडार ट्रयाकिङको प्रमाणका आधारमा पत्ता लागेको नयांँ तथ्य अनुसार विमानमा रहेको कसैले जानाजान लगातार रुपमा केही अस्वभाविक हर्कत गरेको उल्लेख गरे ।
मलेसियाली प्रधानमन्त्री रज्जाकले विमान सम्पर्कविहीन भएपछि पनि अरु सात घण्टासम्म उडेको हुन सक्ने जानकारी दिए । अनुसन्धान अब नयाँ ढंगबाट गरिएको भन्दै उनले चालक दलका सदस्य र यात्रुका विषयमा फेरि अनुसन्धान सुरु गरिएको बताए । रज्जाकले खोजीको दायरा बढाइएको पनि बताए ।
एक सातादेखि हराइरहेको विमानमा चालक दलका सदस्यसहित दुई सय ३९ यात्रु सवार थिए । मलेसियाको क्वालालाम्पुरबाट चीनको बेइजिङका लागि उडेको विमान उडेको दुई घण्टा पछि पूर्वी मलेसियाको दक्षिणी चिनियाँ समुद्रबाट सम्पर्कविच्छेद भएको थियो ।
विभिन्न १४ देशका ४२ वटा पानीजहाज र ३९ वटा विमान रातदिन जहाजको खोजिमा जुटेपनि अहिलेसम्म जहाज कहाँ छ भन्नेबारे कुनै संकेत प्राप्त हुन सकेको छैन । (एजेन्सी)