क्राईमीयाका जनता रुसमा विलय हुने भन्नेबारे ऐतिहासिक जनमत संग्रहमा

चैत्र २ । युक्रेनको स्वायत्त क्षेत्र क्राईमीयाका जनताले आज युक्रेनकै अधिनमा रहने वा रुसमा विलय हुने भन्नेबारे ऐतिहासिक जनमत संग्रहमा भाग लिदैछन् । युक्रेन र अरु पश्चिमाले अवैधानिक घोषणा गरेको यो जनमत संग्रहलाई मस्कोले भने समर्थन गरेको छ । यसअघि जनमत संग्रहलाई अवैधानिक घोषणा गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पेश भएको प्रस्ताव पास हुन सकेको थिएन ।
राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र रुसले प्रस्तावको विपक्षमा भीटो प्रयोग गरेको थियो । सुरक्षा परिषदका १५ सदस्यमध्ये रुसले भीटो प्रयोग गरेको थियो भने रुससँग नजिक मानिएको चीन अनुपस्थित थियो ।
अमेरीकाले तयार पारेको प्रस्तावको पक्षमा १३ भोट परेको थियो । बहुसंख्यक रुसी भाषीको बाहुल्य रहेको क्राईमीयाका जनताले रुसमा गाभिने पक्षमा मतदान गर्ने सम्भावना अधिक छ । यो क्षेत्र पछिल्लो केहि हप्तादेखि रुसी सेनाको नियन्त्रणमा छ । युक्रेनको संसदले पुर्व राष्ट्रपति भिक्टर यानुकोभिचलाई बर्खास्त गरेपछि रुसले क्राईमीयामा सैन्य उपस्थिति बढाएको थियो ।
त्यसलगत्तै क्राईमीयाको संसदले रुसमा गाभिने प्रस्ताव पारित गर्दै यो निर्णयलाई जनताबाट अनुमोदन गराउन जनमत संग्रहमा जाने घोषणा गरेको थियो । मस्कोसँग नजिक क्राईमीयाको संसदको घोषणालाई औपचारीकता दिन मात्र जनमत संग्रह हुन लागेको बताइएको छ । रणनीतिक हिसाबले महत्वपूर्ण क्राईमिया क्षेत्र सन् १९५४ सम्म रुसी अधिनमा थियो भने त्यसपछि युक्रेनलाई हस्तान्तरण गरिएको थियो । agencies