चैत्र ४ । रुसी राष्ट्रपति भ्दादिमिर पुटिनले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया सधैं रुसको भाग रहेको जिकिर गरेका छन् । रुसी संसदको विशेष सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसी जनताको मन, मुटुमा क्राइमिया रुसको भागको रुपमा रँंदै आएको बताए ।
उनले आफ्ना सांसदहरुलाई युक्रेनबाट छुट्टिएको घोषणा गरेको क्राइमियाको कदमलाई समर्थन गर्न आग्रह गरेका छन् । क्राइमियामा शनिबार सम्पन्न विवादापस्द जनमतसंग्रहको निर्णयपछि रुसले उसलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो ।
रुसी राष्ट्रपति पुटिनले क्राइमियालाई एक स्वतन्त्र र सम्प्रभु राष्ट्रका रुपमा मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन् । उनले रुसको संसदमा क्राइमियाले आफ्नो देशसँग विलिन हुन चाहेको सम्बन्धमा जानकारी गराएका छन् ।
रुसको यस कदमबाट क्रूद्ध बनेका पश्चिमा देशहरुले भने रुसविरुद्ध विभिन्न प्रतिबन्ध लगाएका छन् । निर्णयबाट रुष्ट अमेरिका र युरोपेली राष्ट्रले रुस र युक्रेनका २१ जना अधिकारीको यात्रामा प्रतिबन्ध लगाउँदै उनीहरुका सम्पत्तिनै जफत गर्ने निर्णय लिएका छन् । क्राइमिया र रुसविरुद्ध आगामी दिनमा अझ कडा कदम चालिने बताइएको छ ।
क्राइमियामा सम्पन्न जनमत संग्रहमा युक्रेनबाट छुट्टिने पक्षमा भारी मत प्राप्त भएको भोलिपल्ट हिजो क्राइमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको औपचारिक घोषणा गरेको थियो । क्राइमियाली संसदले मुलुकलाई रुसमा गाभ्ने निर्णयसमेत लिएको थियो । संसदले अब युक्रेनको कुनै कानून लागू नहुने भन्दै क्राइमियामा रहेको युक्रेनको सबै सम्पत्तिमाथि पनि आफ्नै हक लाग्ने घोषणा गरेको छ ।
उता, युक्रनेले भने आफ्नो ४० हजार सुरक्षा बललाई युद्धजस्तै अवस्थाका लागि तयार रहन निर्देशन दिएको छ । युक्रेनसहित अमेरिका र युरोपेली मुलुकले भने क्राइमियाको जनमत संग्रहलाई अवैध भनेका छन् ।
युक्रेनमा भिक्टर यानोकोभिचलाई राष्ट्रपतिबाट अपदस्थ गरेलगत्तै क्राइमिया रुसी सेनाको नियन्त्रणमा छ । रुस समर्थित यानोकोभिचलाई हटाइएपछि रुसी भाषीको बाहुल्य रहेको क्राइमियाले युक्रेनबाट अलग हुने निर्णय गरेको थियो । (एजेन्सी)