सरकारद्धारा आफ्नो न्युनतम साझा कार्यक्रम, आचार संहिता र सरकार सञ्चालको कार्यविधि सार्वजनिक

काठमाडौ, चैत्र ४ – सरकारले मंगलबार आफ्नो न्युनतम साझा कार्यक्रम, आचार संहिता र सरकार सञ्चालको कार्यविधि सार्वजनिक गरेको छ । सिंहदरवारस्थित योजना आयोगको हलमा पत्रकार सम्मेलन गरी सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रमुख ठूला दल कांग्रेस-एमाले सम्मिलित सरकारले एक वर्ष भित्र संविधान जारी गर्न संविधानसभालाई सरकारका तर्फबाट गर्न पर्ने कामलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय निकायको निर्वाचनलाई पनि जोड दिएको छ । संघीय संरचना अन्तर्गतका निकायहरु गठन नहुन्जेलका लागि दलहरुसंग परामर्श गरी स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरिने कार्यक्रममा उल्लेख छ ।
शान्ति प्रक्रियाको बाँकी सबै कामलाई प्राथमिकता दिंदै संवैधानिक निकायमा रिक्त पदहरु यथासिघ्र पदपूर्ति गरिने सरकारले आफ्नो साझा कार्यक्रममा समेटेको छ । प्रधानमन्त्रीले विभिन्न समितिको नेतृत्व गर्दै आएकोमा त्यसलाई घटाउने र राज्य संचालन प्रणाली पारदर्शी र जनउत्तरदायी बनाउने भनिएको छ ।
मन्त्रि रिजालले १४५ बुँदको साझा कार्यक्रमका प्रमुख बुँदालाई कार्यक्रममा सार्वजनिक गरेका थिए । लोडसेडिङ कम गर्ने कामलाई सरकारले उच्च प्राथिमकतामा राखेको भन्दै साँझको समयमा घरेलु प्रयोगका लागि विद्युत आपूर्तिको प्रयास गरिने साझा कार्यक्रममा समेटिएको छ ।
सिंहदरवार र उपत्यका भित्रको तीन वटै जिल्लाको सडकमा सौर्य उर्जाको व्यवस्थामा जोड दिइने छ । उर्जा र कृषि क्षेत्रमा वैदेशिक लगानी बढाइने छ ।  सरकारले क्रिकेट एकेडेमी र अन्तर्राष्ट्रि स्तरको स्टेडियम निर्माणलाई अगाडि बढाउने प्राथमिकतामा राखेको छ ।    
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ४