काठमाडौं, चैत्र ५ । रुसमा गाभिएको घोषणा गरेको क्राइमियाको सेवास्तोपोल सहरमा रुसी समर्थकहरुले युक्रेनी नौसैनिक अड्डा कब्जा गरेका छन् । उनीहरुले त्यहाँस्थित युक्रेनको नौसैनिक मुख्यालयमा रुसी झण्डा फहराएका छन् ।
उनीहरुले युक्रेनका नौसेना प्रमुख सर्हिया ह्यादुकलाई पनि नियन्त्रणमा लिएको छ । त्यहाँ काम गर्ने धेरै युक्रेनीले कार्यालय छाडेको जनाइएको छ ।
यस्तै, सिम्फेरोपोलस्थित सैनिक अड्डा नजिक भएको झडपमा आफ्ना एक सैनिक मारिएको युक्रेनी अधिकारीहरुले दाबी गरेका छन् । युक्रेनी प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले क्राइमिया विवाद अब सैन्य संघर्षमा बदलिएको टिप्पणी गर्दै अमेरिका र बेलायत जस्ता देशसँग सहयोग मागेका छन् ।
यसअघि क्राइमियालाई रुसमा गाभ्ने सम्बन्धी एक विधेयकमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र क्राइमियाका नेताहरुले हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि राष्ट्रपति पुटिनले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया सधैं रुसको भाग रहेको जिकिर गरेका थिए ।
क्राइमियामा शनिबार सम्पन्न विवादास्पद जनमत संग्रहको निर्णयपछि रुसले उसलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । रुसको यस कदमबाट क्रूद्ध बनेका पश्चिमा देशहरुले भने रुस विरुद्ध विभिन्न प्रतिबन्ध लगाएका छन् । क्राइमियामा सम्पन्न जनमत संग्रहमा युक्रेनबाट छुट्टिने पक्षमा भारी मत प्राप्त भएको भोलिपल्ट क्राइमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको औपचारिक घोषणा गरेको थियो । AGENCIES