अष्ट्रेलियाद्धारा हिन्द महासागरमा देखिएको दुईवटा शंकास्पद वस्तु मलेसियाको बेपत्ता विमान हुनसक्ने भनाइ

चैत्र ६ । अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटले हिन्द महासागरमा दुईवटा शंकास्पद वस्तु देखिएको र उक्त वस्तु मलेसियाको बेपत्ता विमानसँग सम्बन्धित हुनसक्ने बताएका छन् । सेटलाइटबाट प्राप्त तस्वीरहरुमा विमानको टुक्रा जस्तो देखिने दुईवटा शंकास्पद वस्तु देखिएको उनको भनाइ छ ।
हिन्द महासागरको दक्षिणी भागमा देखिएका ती वस्तुहरु अष्ट्रेलियाको पर्थ नजिक रहेको बताइएको छ । शंकास्पद वस्तुबारे अनुसन्धान गर्न अष्ट्रेलियन हवाई सेनाको एउटा जहाज त्यसतर्फ पठाइएको अष्ट्रेलियन प्रधनमन्त्री एबटको भनाइ रहेको बीबीसीले जनाएको छ ।
सेटलाइटबाट प्राप्त तस्वीरको विश्लेषण गर्दा ती टुक्राहरु विमानकै भएको हुनसने पर्याप्त आधारहरु भेटिएको अष्ट्रेलियाको दाबी छ । हिन्द महासागरमा शंकास्पद वस्तु देखिएको स्थानतर्फ अष्ट्रेलियन खोजी टोली खटिएको छ । उसले केही घण्टाभित्रै शंकास्पद वस्तुबारे तथ्य पत्ता लगाउने आशा गरिएको छ ।
बेपत्ता विमानको खोजीमा मलेसियालाई सहयोग गरिरहेको अष्ट्रेलियन जल सेनाले यसबारे औपचारिक पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ । (एजेन्सी)