चैत्र ६ । भारतको उच्च अदालतले मुम्बईमा एक अंग्रेजी पत्रिकामा कार्यरत २२ वर्षीया प्रशिक्षार्थी फोटो पत्रकारमाथि भएको सामूहिक बलात्कारमा चार जनालाई दोषी ठहर गरेको छ । बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका पाँच जना मध्ये चार जनालाई दोषी ठहर गरिएको हो ।
अर्का एक आरोपी भने नाबालिग रहेको र उनको बयान जारी रहेको बताइएको छ । मुम्बईको शक्तिमील नजिक सन् २०१३ को अगष्ट २२ तारिखका दिन ती प्रशिक्षार्थी पत्रकारमाथि सामूहिक बलात्कार भएको थियो ।
बलात्कारपछि मुम्बईको जसलोक अस्पतालमा उपचाररत ती पीडित युवतीको बयानका आधारमा प्रहरीले आरोपीहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो । सामाजिक बेइज्जती हुने त्रासमा पीडित पक्षले सुरुमा घटना लुकाउन खोजेका थिए ।
समाचारका लागि तस्वीर खिच्न पुगेकी उनलाई सँगै रहेका पुरुष साथीलाई बाँंधेर सामूहिक बलात्कार गरिएको थियो । दोषी ठहर गरिएका चारै जना विरुद्ध भोली सजाय सुनाइने जनाइएको छ । (एजेन्सी)