– बुद्धि रायमाझी, अर्घाखाँची
किशोर किशोरीहरुको क्लव “अर्घाखाँची युथ सेवा” को व्यवस्थापनमा जय सन्तोषीमा चलचित्र मन्दिरमा हालै ऐतिहासीक “झोला” फिल्म प्रदर्शन भएको छ । करिव डेढ घण्टाको यो फिल्मले महिलाहरुप्रति धर्मको अडमा हुने अत्याचारको एउटा झलक प्रस्तुत गर्दछ । कृष्ण धारावासीको उपन्याश “झोला” मा आधारित यो फिल्म दर्शनीय रहेको छ । सामन्तवादी हिन्दु समाजका कथित उपल्लो वर्ग समुदायका महिलाहरुले विगतमा भोग्नु परेको पीडा पर्दामा अभिव्यक्त भएको छ । फिल्म हेर्दा जो सुकैको पनि आँखा रसाउँछ । लेखक निर्देशकहरुको परिकल्पना प्रशंसायोग्य रहेको छ । सवै कलाकारहरुको भूमिका कलात्मक रहेको छ । यो संक्षिप्त लेख फिल्म समिक्षा नभएर अघिल्लो शताव्दीसम्म नेपाली समाजमा प्रचलित मानवताको कलंक सती प्रथाको सेरोफेरोमा केन्द्रित रहने निवेदन गर्दछु ।
गुप्तकालीन भारतमा शुरु भएको सती प्रथा लिच्छवी कालमा नेपाल प्रवेश गरेको थियो । यही समयमा सामन्ती सँस्कृति मौलाउन शुरु गरेको हो । सत्तरी वर्षका बुढाले सात वर्षकी कन्या पनि विवाह गर्दथे । कन्यादानलाई सवै भन्दा महान र उत्तम दान मानिने सँस्कारको विकास भयो । समाजमा महिलाहरुलाई नानी पाउँने मेसिन र भोगविलाशको वस्तु मानियो । धेरै पत्नीहरु जुटाउन सक्ने पुरुषलाई मर्द (बहादुर) मानिन्थ्यो । भगवान शब्दको एउटा अर्थ त धेरै श्रीमतीहरुको पति भन्ने पनि लाग्छ ।
एकल महिलाहरुले अधिकार प्राप्तिको निम्ती आवाज उठाउन नपाउन् भनेर उनीहरुलाई लोग्नेको लाशसँगै ज्युँदै जलेर मर्नु पर्ने नियम बने । अघिल्लो युगको मात्रृसतात्मक समाजमा महिलाहरुको इज्जत र हालिमुहाली रहेको कुरा सुनेका महिलाहरुले अधिकार माग गर्ने सम्भावना पनि थियो । सती गएकी महिला स्वर्गमा पतीसँगै बस्न पाउँछे भनियो । र खासगरी उपल्लो जात मानिने व्राह्मण क्षेत्री परिवारका महिलाहरुलाई सती जान अनिवार्य वनाइएको थियो । मृत्यु पछि पनि पुरषलाई खानेकुरा र भोग गर्ने वस्तु (पत्नी) आवश्यक पर्छ भन्ने विश्वास उत्पन्न गराइएको थियो । स्थापित शासन सत्ताको विरोध गर्न वर्ग शत्रुहरुलाई थुनेर ठेगान लगाउनको निम्ती जेल खानहरु वनाइए । महिलाहरु त थुनिन पनि नपाउँने भए । जीउँदै जलेर धर्म पालन गर्नु पर्ने भयो । धर्मको नाममा महिलाहरुको बाँच्ने अधिकार पनि हरण भयो ।
फ्रान्सेली इतिहाँसकार सिल्भाँ लेभिले हिन्दु अधिराज्यको इतिहास नामक पुस्तकमा लेखेका छन “लोग्ने मरेपछि लोग्नेको लाशसितै स्वास्नी मान्छेहरु ज्युउँदै पोलिन्छन । यसलाई सती प्रथा भनिन्छ । अधिकांश विधवाले म सती जान्न भने पनि अभिभावकलहरुले कर लगाएर नै सती पठाउँछन् ।” सँस्कृतिविद् निनु चापागाँई लेख्नछन् “पुरुषको अनुगामिनीका रुपमा प्रतिछाँयासरह नारीलाई हिडनु हिन्दु विवाह पद्धतीले सिकाउँछ । सती प्रथा यसैको चरम रुप थियो ।”
नेपालमा जनस्तरको इतिहास लेखिन शुरु भएको छैन भने पनि हुन्छ । इतिहासकारहरु राजामहाराजाहरुका दरवार वरिपरि परिक्रमा गर्दै आएका छन् । नेपालका राजाहरुले शास्त्रका ज्ञाता मानिने विद्धानहरुलाई दरवारमा पालेर आफ्ना वंशावली लेख्न लगाउँने गर्दथे । यस्ता ९ जना विद्धानहरुको समुहहरुलाई नवरत्न भनिन्थ्यो । राजा मर्दा जति धेरै रानीहरु र रवौलीहरु सती गए त्यो राजाको त्यती बढी महिमा गरेर इतिहास लेखिन्थ्यो ।
काठमाण्डाँैका राजा प्रताप मल्लसँग ३५ वटी महिला सति गएको इतिहासमा पाइन्छ । त्यसैगरी नरेन्द्र मल्ल सँग १० वटी र गोरखाका राजा नरभुपाल शाह मर्दा १ वटी र पाटनका योग नरेन्द्र मल्ला सँग ३३ वटी, भक्तपुरका रुद्र मल्लासँग ४ वटी, पृथ्वी नारायाण साहसँग एउटी रानी, २ वटी भित्रेनी र ६ वटी सुसारे गरी ९ जना महिला सती गएका थिए । प्रताप सिंह शाहका १ रानी, २ मित्रेनी र ६ वटी सुसारेहरु सती गएका थिए । एक महिनाकी सुत्केरी उनकी एउटी सुसारेलाई पनि घिसार्दै सती पठाइएको थियो । विर्गाणयुद्ध विर विक्रम साह सँग १ र जंगवहादुर राणाका रानीहरुलाई करकापमा पारेर सती पठाइएको थियो ।
मृत्यु भनेको चोला बदल्नु ९त्चबलकायचmबतष्यल या कयग०ि हो । आत्म अमर छ । तसर्थ धर्मात्मा पतिपन्तीहरु स्वर्गमा सँगै निवास गर्ने भएकोले इश्वरले उनीहरुलाई सहकार्यको वातावरण उपलव्ध गराइदिएको छ भन्ने प्रचार गरियो । सुधारवादी भनिएका राजामहाराजाहरुले पनि धर्म खल्वलिन्छ भन्ने वहानामा सती प्रथा उन्मुलन गर्न चाहेनन् । राजा राजेन्द्रले १२ वर्ष मुनिका विधवालाई सती जान नपर्ने नियम बनाए पनि पूर्ण निषेध गरेका थिएनन् । दरवारको राजनीतिमा हस्तक्षेप गर्न सक्ने महिला प्रतिदन्द्धीलाई दवाउन र कमजोर गराउन पनि सती प्रथा अनिवार्य गरिएको थियो । भिमसेनथापाले रण बहादुर शाहकी रानी राजराजेश्वरीलाई सती जान वाद्य वनाएका थिए ।
जंगबहादुर राणाले आफ्ना नातेदारहरुमा यो अमानवीय प्रथा हटाउने प्रयास गरेको विद्धानहरुले उल्लेख गरका छन । उनको पालमा १६ वर्ष भन्दा मुनकिी विधवा वा १६ वर्ष उमेर नपुगेको छोराकी आमा सती जान नपर्ने नियम बनाए । पाँच वर्ष मुनिकी छोरीकी आमा वा दुई भन्दा बढी लोग्नेकी स्वास्नी भएमा पनि सती जान नपर्ने भयो । गर्भवती या सुत्केरी अवस्थामा पनि सती जान नपर्ने गराए । सम्भन्धित विधुवाको मालिकले सती जान वाध्य पारेमा ६ वर्ष कैद र सम्पत्ती हरण हुने भयो । सती जान खोज्ने महिला व्राह्मण भएमा जन्म कैद र अन्य भएमा सर्वस्व हरण सहित मृत्यु दण्ड दिने कानून बन्यो ।
विधुवा विवाहको अुनमति नभएको समाजमा एकल महिलाहरुको अवस्था दयनीय नै हुने गथ्र्यो । सती नगएकाहरुलाई शारीरिक सुखभोगको लालसा त्यात्न नसकेकी चण्डाल्नीको आरोप लाग्ने गर्दथ्यो । मर्नु भन्दा वहुलाउन निको ठानेर सती नगएकाहरुको न समाजमा इज्जत हुन्थ्यो न त सुखी जीवन नै । छोरी पाएका वुवा आमाहरु ७२ महिना उमेर पुगेकी छोरीको विवाह वुढासँग पनि गरिदिन तयार रहने जमानामा कुनै पनि पुरुष सामान्यतया पुरुष राँडी र चण्डाल्नीको पोइ वन्न तयार पनि हुँदैनथ्यो ।
सती प्रगथासँग धार्मिक आस्थाको अतिरिक्त अािर्थक कारण पनि गाँसिएको हुने गथ्र्यो । सती पठाए पछि विधुवालाई जीवनभरि लाउँन खान दिएर पाल्न पर्ने पनि भएन । अंश दिनु पनि परेन । जग्गा जमिन टुक्रिने भएन । ठूलो पाटो या ठूला खेतको धनी रहन पाइने भयो ।
भारतबाट सुरु भएको सती प्रथा भारतमा समाज सुधारकहरुको प्रयासले उन्मुलन भए पछि नेपालमा पनि सकारात्मक असर प-यो । भारतमा समाज सुधारक राममोहन जस्ता व्यक्तिहरुले सति प्रथा उन्मुलन सम्वन्धमा उठाएको आवाज व्रिटिस शासकहरुले वेलायतका वादशाह समक्ष पुराएर संसदले कानुन वनाएर सती प्रथा खारेज ग-यो । सती जान उक्साउने र जान खोज्ने दुवैलाई दण्ड सजाय हुने कानूनी प्रावधान राखियो ।
सामाजिक कुरितीहरु हटाउँन आवाज उठाउनेहरु प्रति नेपालका राणाहरु सहनशील नहुदानहुदै पनि आफ्ना मालिक अग्रेजहरुको सिको गरेर राणा प्रधानमन्त्री चन्द्र समशेरले वि.सं. १९८१ सालमा समयको दवावमा परेर सती प्रथा दण्डनीय करार गरे । उच्च घरानिया नेपालीमहिलाहरुलाई ज्यूँदै जल्नु पर्ने अवस्थाबाट मुक्त गराए । धेरै दुर्गुणहरु भएर पनि चन्द्र शमशेर राणा यस अर्थमा सुधारवादी शासकको रुपमा सम्झना गरिने मध्यमा परेका छन् ।
मिती (२०७० -१२ -०१)