क्राइमियामा तनाव बढ्न थालेपछि युक्रेनमा अन्तर्राष्ट्रिय निगरानी टिम

 चैत्र ८ । क्राइमियामा तनाव बढ्न थालेपछि युरोपको सुरक्षा र सहयोगी संगठनहरुले युक्रेनमा अन्तर्राष्ट्रिय निगरानी टिम पठाउने भएका छन् । यस संगठनमा युरोपेली संघका साथसाथमा रुस पनि संलग्न हुनेछ ।
६ महिनासम्म रहने यस अभियानमा करिब सय जना अन्तर्राष्ट्रिय निरीक्षक खटिने छन् । ती निरीक्षकहरुलाई युक्रेनको नौ क्षेत्रमा खटाइने छ । रुसी भाषीहरु बस्ने पूर्वी यूक्रेनमा पनि यस टोलीलाई पठाइनेछ तर क्राइमियामा भने जाने अनुमति दिइएको छैन ।
यता, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले भने क्राइमियालाई आफ्नो देशमा विलय गराएको विधेयकमा हस्ताक्षर गरेका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले रुस र युक्रेन दुबैलाई तनाव कम गर्न शान्तिपूर्ण बाटो खोज्न अपील गरेका छन् । रुसमा राष्ट्रपति पुटिनसँग भेट गरी युक्रेन पुगेका बानले यसका लागि आफ्नो पूरा सहयोग रहने वचन पनि दिएका छन् ।
यसअघि क्राइमियालाई रुसमा गाभिएपछि रुष्ट बनेको युरोपियन युनियनले युक्रेनसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
इयूले यूक्रेनलाई आर्थिक र राजनीतिक सहयोग गर्ने वचन दिएको छ । अमेरिकाले पनि रुसी अधिकारीहरुविरुद्ध आर्थिक प्रतिबन्ध लगाएको थियो । (एजेन्सी)