काठमाडौँ-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधान निर्माणका लागि सहज वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको नवौँ अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उपप्रधानमन्त्री गौतमले समयसीमाभित्र संविधान निर्माण गर्न जनप्रतिनिधिहरुको कर्तव्य भएकाले सो कार्यलाई पूर्णरुपमा सहयोग गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए।
उनले शान्ति सुरक्षा र अमनचैनका लागि सरकारले चालेको कदम सही रुपमा विष्लेषण गरी जनतासामु ल्याउन मिडियाले स्पष्ट भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले सनसनीपूर्ण हिसाबले मिडियामा प्राथमिकता पाउने तर मूल विषयले प्राथमिकता नपाउने गरेको जस्तो आफूलाई आभाष भएको उल्लेख गर्दै त्यसतर्फ सञ्चारकर्मीको ध्यान जानुपर्ने बताए।
देशको सङ्क्रमणकालको सदुपयोग गर्दै दण्डहिनता अपनाउने कार्यलाई रोक्नका लागि आवश्यक सहयोग गर्न उनले पत्रकारहरुलाई आग्रह गरे।
राज्यलाई कर नतिर्ने क्यासिनोहरुलाई कुनैपनि हालतमा नछोड्ने उल्लेख गर्दै कानुनअनुसार उनीहरुले कारबाही भोग्नुपर्ने गृहमन्त्री गौतमको भनाइ थियो। रासस