नीति तथा कार्यक्रम संसद्मामा प्रस्तुत नगरेको, विधि र प्रक्रिया विपरित चलेको भन्दै सरकारको विरोध

काठमाडौं, चैत्र ९ । नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा सरकारले नीति तथा कार्यक्रम संसद्मामा प्रस्तुत नगरेको भन्दै सभासद्ले सरकारको विरोध गरेका छन् । 
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सभासद्हरुले संसद्लाई उपेक्षा गरी नीति तथा कार्यक्रम ल्याइएकामा विरोध गरेको सभासद् पार्वत गुरुङले जानकारी दिए ।
उता सरकारको विधि र प्रक्रिया विपरित चलेको भन्दै सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद्हरुले कडा आपत्ति जनाएका छन् । 
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय सदस्य तथा सभासद्हरुले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका हुन् ।
सरकारले पार्टीभित्र छलफल नगरी संसद बाहिर नीति कार्यक्रम प्रस्तुत गरेको, मन्त्रीपरिषद्मा सबै क्षेत्रलाई समेट्न नसकेको जस्ता विषयमा नेतृत्वको आलोचना गरेका थिए । सरकारका विषयमा पार्टीभित्रै असन्तुष्टी बढ्न थालेपछि प्रधानमन्त्री सुशील कोइरालाले पार्टी र संसदीय दलको संयुक्त वैठक आह्वान गर्नुभएको हो ।
कांग्रेसमा दलको प्रमुख सचेतक र सचेतक मनोनयन गरिएको भएपनि दलको उपनेता र कार्य समिति बनाइएको छैन । उता, कार्यवहाक सभापतिको जिम्मेवारी नदिइएको भन्दै उपसभापति रामचन्द्र पौडेलले पनि असन्तुष्टी जनाउनु भएको बताइन्छ । RSS