एसएलसी परीक्षामा निरीक्षक र गार्डहरूले नै चिट चोराउने र प्रश्नपत्र बाहिर पठाउने गरेको भन्दै तराईका ८ जिल्लालाई संवेदनशील सूचीमा

काठमाडौं २०७० चैत्र १० सोमबार- एसएलसी परीक्षाका क्रममा निरीक्षक र गार्डहरूले नै चिट चोराउने र प्रश्नपत्र बाहिर पठाउने गरेको भन्दै परीक्षा नियन्त्रक कार्यालय (पनिका) सानोठिमीले तराईका ८ जिल्लालाई ‘संवेदनशील’ सूचीमा राखेको छ। तराईका बारा, पर्सा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सप्तरी र सिरहाका परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष, निरीक्षक, गार्ड र कार्यालय सहायकहरूले नै विद्यार्थीलाई चिट चोराउने, प्रश्नपत्र बाहिर पठाउने र बोर्डमा उत्तर लेखिदिने गरेको फेला परेपछि पनिकाले संवेदनशील सूचीमा राखेको हो।
‘तराईका आठ जिल्लाका विभिन्न परीक्षा केन्द्रमा निरीक्षकले नै चिट चोर्न सिकाइरहेको, प्रलोभनमा परी चलखेल गरेको पाइयो,’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले आइतबार नागरिकसँग भने, ‘यी जिल्लालाई संवेदनशील जिल्ला मानेर पनिकाले चार उपनियन्त्रकलाई विशेष अनुगमनमा खटाएको छ।
आइतबार गणित विषयको परीक्षा क्रममा ती जिल्लामा यस्ता समस्या बढी देखिएको परीक्षा नियन्त्रक द्वारेले बताए। पनिकालाई प्राप्त सूचनाअनुसार सलार्हीको साखापुर परीक्षा केन्द्रमा १३ विद्यार्थी, उमावि गौडैटा केन्द्रबाट १ विद्यार्थी, कमैया उमावि कमैया केन्द्रबाट ४ गरी कूल १८ विद्यार्थी र १ निरीक्षकले परीक्षा केन्द्रमा चिट चोर्ने र चोराउने कार्य गरी परीक्षा खल्बल्याएको पाइएकाले निष्कासन गरिएको छ।
बाराको परसौनी केन्द्रबाट ४ निरीक्षक, भोजभगत केन्द्रबाट ३ निरीक्षक, गन्जभवानीपुर परीक्षा केन्द्रबाट १ निरीक्षक, पन्नाटंकी कलैया केन्द्रबाट १ निरीक्षक, फकिरागिरी केन्द्रबाट १ निरीक्षक गरी १० जना निरीक्षकलाई नै परीक्षा केन्द्रबाट हटाइएको छ। बाराकै गन्जभवानीपुर परीक्षा केन्द्रबाट एकजना परीक्षार्थीलाई समेत निष्कासन गरिएको पनिकाले जनाएको छ।
पर्साको जितपुरस्थित जनता मावि नौकाटोल परीक्षा केन्द्रबाट एकजना विद्यार्थी र उनलाई चिट चोर्न सघाउने निरीक्षकलाई जिल्ला परीक्षा समन्वय समिति तथा उच्चस्तरीय अनुगमन टोलीले निष्कासन गरेको छ। 
रौतहटको यमुना माई उमावि झुनखुनुवा केन्द्रबाट १२ परीक्षार्थी, जुद्ध मावि गौर ‘क’ केन्द्रबाट ३ परीक्षार्थी, जुद्धमावि गौर ‘ख’ केन्द्रबाट २ परीक्षार्थी, सरस्वती उमावि भोलाई टोल केन्द्रबाट २ परीक्षार्थी, उमावि गरुडाबाट ४ परीक्षार्थी, सरस्वती उमावि खेसटहियावाबाट ८ परीक्षार्थी र बालमन्दिर गौर ‘ए’बाट १ परीक्षार्थी गरी कूल ३२ परीक्षार्थी निष्कासनमा परेका छन्।
धनुषामा दुईजना परीक्षा निरीक्षकलाई गणितका प्रश्नको उत्तर चिटमा लेखेर दिएको भन्दै निष्कासन गरिएको छ।
‘हिमाली र पहाडी जिल्लामा मर्यादित र शान्तिपूर्ण रूपले परीक्षा सञ्चालन भइरहे पनि तराईका केही जिल्लामा भने निरीक्षक र गार्डहरूले नै मर्यादाविपरीत कार्य गरिरहेको पाइएको छ,’ द्वारेले भने। उनका अनुसार प्रश्नपत्र बाहिर पठाउने, परीक्षा केन्द्र वरिपरि अभिभावकहरूले होहल्ला मचाउने, केन्द्राध्यक्ष तथा शिक्षकहरूले बोर्डमै प्रश्नको उत्तर लेखिदिनेजस्ता विकृति भेटिएका छन्। 
आगामी वर्षहरूमा परीक्षा सुधार कार्ययोजना बनाएर वैशाखदेखि नै सबै तयारी गर्ने निर्देशन जिल्लाहरूलाई दिइसकेको उनले बताए। ‘दोषीलाई कसुरअनुसार हदैसम्मको कारबाही गर्न माग गरेका छौं,’ उनले भने, ‘अबका वर्षहरूमा परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन हदैसम्मको कारबाही हुनु आवश्यक छ।
चैत्त ६ बाट सुरु एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जेम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ गरी कूल ५ लाख ६६ हजार ८५ परीक्षार्थी छन्। कूल परीक्षा केन्द्र १ हजार ८ सय ३६ तोकिएका छन्। परीक्षा सञ्चालन एवं व्यवस्थापनका लागि १ हजार ८ सय ३६ केन्द्राध्यक्ष, २ हजार ७ सय ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार ५ सय ९३ निरीक्षक, ७ हजार ५ सय ३० सहयोगी र १८ हजार ३ सय सुरक्षाकर्मी परिचालित छन्। 
एसएलसी परीक्षालाई अमर्यादित बनाए तथा प्रश्नपत्रको गोपनीयता भंग गर्ने क्रियाकलाप गरेको पाइए त्यस्ता व्यक्तिको कसुर हेरेर शिक्षा ऐनअनुसार १ लाख जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
परीक्षार्थीले कुनै विषयको परीक्षामा अनियमित वा अनुशासनहिन कार्य गरे उक्त एक विषयको मात्र वा सबै विषयको परीक्षा रद्द गरी अर्को एक वर्षसम्मको परीक्षामा समेत सम्मिलित हुन नपाउनेगरी कारबाही गर्न सकिने व्यवस्था माध्यमिक शिक्षा परीक्षा समितिले गरेको छ। NAGARIKNEWS