विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था गर्न माग

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपाली नागरिकलाई नागरिकता वा राहदानीका आधारमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेका छन्। 
 
उनले भने, ‘पटकपटक आयोगले छलफलका लागि बोलाएको बैठकमा हामीले विदेशमा रहेका नेपाली नागरिकहरुको मतअधिकार सुरक्षित गर्न उनीहरुको मतअधिकार दिन आग्रह गर्दै आएका थियौँ। आयोग र राजनीतिक दलहरुले पनि यसबारे सकारात्मक देखिएकोले अब निर्वाचन ऐनमा विदेशमा बसोबास र रोजगारीमा संलग्न नेपाली नागरिकलाई संबन्धित मुलुकमा रहेको राजदूतावासमार्फत नागरिकता प्रमाणपत्र वा राहदानीको आधारमा मतदान गर्न पाउने ऐनमा व्यवस्थ गर्न माग गर्दछु।’
 
त्यस्तै नेमकिपाका प्रेम सुवालले सेना र प्रहरी व्यारेकभित्र अस्थायी मतदानकेन्द्र स्थापना गरी त्यहा भएका सुरक्षाकर्मीलाई अस्थायी मताधिकार दिएको हुँदा उनीहरुको जानकारीका लागि राजनीतिक दलहरुले आफ्नो निर्वाचन घोषणापत्रको प्रचारप्रसार गर्न दिने अधिकार ऐनमा व्यवस्थ गर्न माग गरेका छन्। SETOPATI