चैत्र ११ । चीनको राजधानी बेइजिङस्थित मलेसियाको दूतावासमा हराइरहेको विमानका यात्रुका परिवारजन र प्रहरीबीच झडप भएको छ । मलेसियाका प्रधानमन्त्री नजिब रजाकले नयाँ भू-उपग्रहको डाटाले हराइरहेको एमएच ३७० विमानले अष्ट्रेलियाको दुर्गम पश्चिमी समुद्रमा यात्रा टुंग्याएको घोषणा गरेको भोलिपल्ट यो झडप भएको हो ।
बेइजिङमा एक विज्ञप्ति निकाली उनीहरुले मलेसिया सरकारले ढिलाइगरि सत्यतथ्य लुकाउन खोजेको आरोप लगाएका छन् । मलेसिया सरकारको दाबीप्रति आशंका गर्दै चीनले कुन आधारमा यस्तो निष्कर्ष निकालिएको हो पुष्टि गर्न भनेको छ ।
विमानमा १ सय ५३ चिनियाँ यात्रु समेतगरि २ सय ३९ सवार थिए । गत मार्च आठ तारिखदेखि बेपत्ता उक्त विमान दक्षिणी हिन्द महासागरमा दुर्घटना भएको मलेसिया सरकारको निष्कर्षप्रति चीनले आधार मागेको छ ।
क्वालालम्पुरबाट बेइजिङका लागि उडेको विमानको खोजीको पछिल्लो डाटाको विश्लेषणबाट मलेसिया सरकार विमान दुर्घटना भएको निष्कर्षमा पुगेको हो ।
त्यसअघि एअरलाइन्सले विमानमा रहेका २ सय ३९ यात्रुका आफन्तलाई विमान दुर्घटना भएको र कोही पनि जीवित हुने सम्भावना नरहेको सन्देश पठाएको थियो ।
यद्यपि, विमानको अवशेषको खोजी भने जारी रहेको छ । मौसममा खराबी आउँदा खोजीमा अवरोध पुगेको खबर छ । (एजेन्सी)