चैत्र १२ । रुसले युक्रेनको सम्प्रभुता उल्लंघन जारी राखेमा थप प्रतिबन्ध लगाउने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका र युरोपियन युनियनले रुसको अर्थ व्यवस्थामै खलल पुग्ने गरी प्रतिबन्ध लगाउन सकिने बताएका हुन् ।
युक्रेनमाथि चालेको कदम रुसकै लागि खतरनाकसिद्ध हुने भन्दै ओबामाले हरतरहको प्रतिबन्ध सामना गर्न तयार रहन पनि भनेका छन् । सोभियत संघबाट टुक्रिएको एक दशकसम्म पनि युक्रेनमाथि रुसको कुनै न कुनै ढंगको प्रभाव रहेको स्वीकार्दै ओबामाले छिमेकीमाथि यस्तो प्रभाव आफूहरुको पनि हुने तर देशनै टुक्र्याउने नीति कहिल्यै नहुने प्रष्ट गरे ।
युक्रेनी सीमामा तैनाथ गरिएको रुसी सेना तुरुन्त हटाउन माग गर्दै ओबामाले अन्यथा क्राइमियाको मामिलाले चरम रुप लिन सक्ने चेतावनी दिए । युक्रेन अधिनस्थ क्राइमिया रुसमा गाभिएपछि अमेरिका, युरोपियन युनियनलगायत मुलुक क्रेमलिनसँग रुष्ट बनेका छन् । (एजेन्सी)