काठमाडौं, चैत्र १६ – नेपाल पत्रकार महासंघ स्थापनाको ५९ औं वर्ष पुगेको छ । त्यस अवसरमा विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष शिव गाउँलेले शुभकामना व्यक्त गरेका छन् । ‘
देभभर र संसारभरि छरिएर रहेका नेपाली आमसञ्चारकर्मीहरूमा बधाई दिन चाहन्छु,’ भनेका छन्, ‘मुलुकमा नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारका हितका लागि अघि बढ्न अग्रजहरूले आजभन्दा ५९ वर्षअगाडि गरेको प्रयास आज मुलुकको सीमा नाघेर संसारभर फैलिएको छ भन्न पाउँदा हामी गौरव गर्छौं ।’
एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नुपर्ने चुनौती रहेको यो अवस्थामा नेपालकै अगुवा नागरिक निकायका रूपमा रहेको नेपाल पत्रकार महासंघको भूमिका अझ बढेको विज्ञप्तिमा छ । ‘आज पनि देशभरका पत्रकारको प्रत्यक्ष सहभागितामा लोकतान्त्रिक अग्रगामी समाज र स्थायी शान्ति स्थापनाका पक्षमा महासंघ निरन्तर क्रियाशील रहेको निवेदन गर्न चाहन्छौं,’ भनिएको छ । स्थापना दिवस चैत १६ गतेका अवसरमा महासंघले राजधानी काठमाडौंको बबरमहलबाट नयाँबानेश्वरसम्म प्रभातफेरी निकाल्ने र देशभर शाखाहरूले प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने महासंघले जनाएको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १६