आगामी माघ ८ गतेभित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिएर राजनीतिक स्थायित्वमार्फत आर्थिक विकासलाई अघि बढाउने प्रमुख दलहरुको प्रतिबद्धता

काठमाडौं, चैत्र १७ – संविधानसभा अध्यक्षसहित प्रमुख दलका शीर्ष नेताहरुले आगामी माघ ८ गतेभित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिएर राजनीतिक स्थायित्वमार्फत आर्थिक विकासलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लबको १६ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले एक वर्षभित्र सहमतिमा संविधान निर्माणको विकल्प नभएको भन्दै सबैले आ आफ्नो अडानमा लचकता प्रस्तुत गर्दै मुलुक र जनताको हितमा सहमतिका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङगले दलहरुले गरेको प्रतिबद्धता र जनादेशको जगमा उभिएर आगामी माघ ८ गते भित्र संविधान निर्माण गर्ने पर्ने भन्दै संविधान निर्माण गर्नुको विकल्प कसैसँग पनि नभएको दाबी गरे ।
उनले पहिलो संविधानसभाको विघठनपछि मुलुक अध्यारो सुरुङमा प्रवेश गरेको र जननिर्वाचित सरकारको गठन पछि सो सुरुङको मुखमा मधुरो प्रकाश देखिएकोतर्क गर्दै संविधानसभाभित्र मात्र नभई बाहिर रहेका नेकपा-माओवादी सहितका दलहरुसँगको सहमतिको आधारमा संविधान निर्माण गरेर मुलुकलाई निकास दिनु पर्ने बताए ।
अध्यक्ष नेम्वाङले दलिय अडानमा लचक हुन सबै दललाई सुझाव दिँदै भने- ‘हामी सबै एउटै जहाजमा समुद्रको विचमा छौं । सहमति र सहकार्यमा जहाजलाई किनारा लगाउन नसके सबै दुर्घटनामा पर्छ, कोही पनि बाच्दैनौँ ।’
अध्यक्ष नेम्वाङले सरकार गठन, संविधानसभा अध्यक्षको चयन, विभिन्न समिति गठन लगायतका काम सम्पन्न भए पनि मन्त्री परिषदबाट मनोनीत हुने २६ संविधानसभा सदस्यको मनोनयन नहुँदा पूर्णता पाउन नसकेको भन्दै तत्काल पूर्णता दिएर संविधान लेखन कार्यमा केन्दि्रत हुन दलहरुलाई आग्रह गरे ।
एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माणसँगै मुलुकको आर्थिक विकासलाई अघि बढाउनु पर्ने भन्दै नेपाली जनतासँग गरेको प्रतिबद्धता अनुसार एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले बारम्बार भएको राजनीतिक परिवर्तनको उपलब्धिहरुलाई बचाउन नसकिएको यथार्थ प्रस्तुत गर्दै दोस्रो जनआन्दोलनको उपलब्धि मुलुकमै उथलपुथल ल्याउने खालेको भएकोले अब सबैले यसलाई संस्थागत गर्ने तर्फ आफूलाई केन्द्रीत गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष खनालले आगामि माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अब संविधानसभाले दिने निर्णय नै अन्तिम हुने स्पष्ट पारे ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विघठित संविधानसभाले गरेको कामको स्वामित्व ग्रहणसँगै नयाँ संविधान निर्माणको आधार निर्माण भएको तर्क गर्दै अब अन्य कामलाई छाडेर संविधान निर्माणमा ध्यान केन्द्रीत गर्न दलहरुलाई आग्रह गरे ।
उनले संविधान निर्माण र विकास निर्माणकेा लागि दलहरुलाई सहमतिमा अघि बढ्न आब्हान गर्दै तोकिएकै समयमा संविधान जारी हुनेमा आफू विश्वस्त रहेको बताए ।
कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यथार्थ परक रुपमा काम गरेर नयाँ संविधानको निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा लैजानु पर्ने आवश्यकतामा जोड दिदै आगामी माघ  पहिलो साता भित्रमै संविधान दिने प्रतिबद्धता ब्यक्त गरे । उनले संविधान निर्माणमा पहिला नै धेरै काम भइसकेकोले अब धेरै ठूलो झमेला नभएको उल्लेख गर्दै तीनै उपलब्धिहरुलाई टेकेर अघि बढ्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मिलेर अघि बढे समयमै संविधान जारी गर्न सकिने बताए ।
कानुनमन्त्री नरहरि आचार्यले संविधान निर्माण गरेर मुलुकलाई स्थायीत्वसँगै विकासको बाटोलाई अघि बढाउन सरकार तयार रहेको बताए ।
एकीकृत नेकपा माओवादीका नेता वषर्ामान पुनले एक वर्षभित्र कुनै पनि हालतमा संविधान निर्माण गर्नै पर्ने र त्यो भन्दा बाहिर जान नसकिने भन्दै अहिलेनै कसैले पनि आशंकाको दृष्टिकोणले हेर्न नहुने बताए ।
संविधान निर्माणको लागि संविधानसभा भित्र र बाहिर प्रयत्न गर्नु पर्ने आवश्यकता औल्याउँदै पहिलो संविधान विघठनसम्म गरेको कामकै अवस्थामा अहिलेको संविधानसभा आईसकेकोले अब संविधान निर्माण सहज भएको तर्क गरे । उनले संविधान निर्माण गरेर अािर्थक विकासमा केन्दि्रत हुनु पर्नेमा जोड दिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको क्रममा आफूहरुको धेरै विषयहरुमा फरकमत रहे पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रमुख दलहरुको गतिविधि हेर्दा समयमा संविधान नबन्ने तर बनि हाले पनि नटिक्ने आंशका ब्यक्त गरे ।
नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले अहिलेको संविधानसभाबाट समस्याको समाधान हुन नसक्ने भएकोले नयाँ संविधानको नाममा द्वन्द्वको नयाँ विउ नरोप्न चेतावनी दिँदै सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान सभा बाहिर र भित्र रहेका दलहरुवीचको सहमतिको आधारमा नयाँ संविधान लेख्नु पर्नेमा जोड दिइन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान निर्माणमा सबैको इमान्दार प्रयत्नको आवश्यकता भएकोमा जोड दिँदै नेपालको संविधान निर्माणमा नेपालीहरुवीच नै छलफलको आवश्यकता रहेको बताए । 
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १७