काठमाडौं, चैत्र १७ । बहुचर्चित युनिटी लाइफ काण्डका १२ जना अभियुक्तहरुलाई जिल्ला अदालत ललितपुरले तीन वर्ष कैद र विगो बराबरको जरिवाना हुने फैसला सुनाएको छ । अदालतका न्यायाधीश टेकनारायण कुवरको इजलाशले ठगी मुद्दामा युनिटी लाइफका कासीराम गुरुङसहित १२ जनालाई तीन वर्षको कैद सजायको फैसला गर्दै जनही १ करोड ६ लाख २६ हजार रकम जरिवाना तोकेको हो ।
/>
३ वर्षे कैद र जरिवाना तोकिएका अन्य अभियुत्तहरुमा सञ्चालक युनिटीका सञ्चालक नेत्र राजवंशी, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, भीमबहादुर गुरुङ, महेन्द्र केसी, लोकबहादुर टण्डन, शिशिर योगी, घनस्याम बस्टाकोटी, गोविन्द नेपाली र विश्वनाथ गौतम रहेका छन् ।
अदालतले युनिटी लाइफका सदस्यहरुको रकम फिर्ता दिन समेत आदेश दिएको छ । अदालतले कालु गुरुङ, कृष्ण पाठक लगायत एक सय जनालाई भने सफाइ दिएको छ ।
सरकारी निकायबाट अनुमति नलिइ युनिटी लाइफ इन्स्योरेन्स र सहकारी लगायतका संस्था सञ्चालन गरेर सर्वसाधारणको अर्बौ ठगी गरेको आरोप अभियुक्तहरुमाथि लागेको थियो । सो काण्डमा ललितपुर प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी कारबाही चलाएको थियो । IMAGEKHABAR