जलवायु परिवर्तनका कारण विश्वमा गम्भीर, दीर्घकालीन र अपरिवर्तनीय असरपर्ने सम्भावना

चैत्र १७ । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनका कारण विश्वमा गम्भीर, दीर्घकालीन र अपरिवर्तनीय असरपर्ने सम्भावना बढेको जनाएको छ । जलवायु परिवर्तनले तापमान बढ्दा मानिसको स्वास्थ्य, रहनसहन, खानपान र सुरक्षा जस्ता पक्षमा खतरा बढेको राष्ट्रसंघको जलवायु प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
जलवायु परिवर्तनले सन् २०५० सम्म मकै, चामल र गहुँको उत्पादनमा विभिन्न मुलुकमा २५ प्रतिशतसम्म कमी आउने प्रतिवेदनमा जनाइएको छ । माछाको संख्यामा पनि ५० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ ।
जलवायु परिर्वतनको सीधा प्रभाव प्रकृतिमा परेपनि त्यसले मानिसमा पर्ने प्रभावसम्बन्धमा पनि वैज्ञानिकहरु चिन्तित छन् । जलवायु परिवर्तनका कारण प्राकृतिक र मानवीय व्यवस्थामा पछिल्लो केही दशकमा निकै प्रभाव परेको जनाइएको छ ।
जलवायु परिवर्तनबाट गरीब मुलुक बढी प्रभावित हुने छन् भने धनी मुलुक पनि यसको असरबाट अछुतो रहने छैनन् । जापानको योकोहामा चलेको वैज्ञानिकहरुको एक हप्ता लामो बैठकमा जलवायु परिवर्तनबाट भएको प्रभावबारे अहिलेसम्मकै सबैभन्दा व्यापक दस्तावेज पेश गरिएको थियो ।
बैठकमा जलवायु परिवर्तनको कारण, प्रभाव र समाधानबारे छलफल भएको थियो । जलवायु परिवर्तनबारे सन् २००७ मा सार्वजनिक गरिएको प्रतिवेदनको तुलनामा यस वर्षको रिपोर्टले यसको खतरा दुई गुणा बढेको देखाएको छ । (एजेन्सी)