कुनै दिन (गज़ल)

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल:-रोचेस्टर,न्युयोर्क
***********
नगरौँ लोभ जिन्दगी हाम्रो,मर्नेछ कुनै दिन 
रहन्न सधैँ प्रकृति फूल,झर्नेछ कुनै दिन l
झुटको खेती टिक्दैन धेरै,लैजान्छ पैह्रोले 
उर्लेर बाढी पापको कमाइ,हर्नेछ कुनै दिन l
जे जति सक्छौँ उपकार गरौं,अशक्त दु:खीको 
अवश्यमेव लोकले माया,गर्नेछ कुनै दिन l
निष्ठुरी जाली मान्छेको कहिल्यै,नगर्नु भरोषा
आँखामा छारो हालेर खोला,तर्नेछ कुनै दिन l 
प्रेमले चोखो विरुवा रोपौँ,हृदयी वागमा
सद्भावरुपी फैलेर हाँगा,सर्नेछ कुनै दिन l
संघर्ष गरौं,पौरखी बनौँ,निस्वार्थ सोचले 
दैवले पनि खुसी र हाँसो,छर्नेछ कुनै दिन l
अगाडि बढौँ भातृत्व भाव राखेर सवैमा 
प्रेमले मात्रै संकष्ट सारा,टर्नेछ कुनै दिन l
हितको सन्देश बोकेर आउँछ,’कोमल’ मनले
सत्य यो भए सवैको आँखा,पर्नेछ कुनै दिन l