राजनीतिक दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्न प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह

काठमाडौं, चैत्र १९ । प्रधानमन्त्री सुशील कोइरालासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज छुट्टाछुट्टै भएको भेटमा थापाले राजनीतिक दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
उनले उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन पनि कोइरालाको ध्यानाकर्षण गराए । भेटमा संविधान निर्माण र शान्ति प्रक्रियालाई तीव्रता दिने विषयमा पनि छलफल भएको थियो ।
दुई नेताबीच मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।
भेटमा अध्यक्ष ठाकुरले भने जतिसक्दो चाँडो स्थानीय निर्वाचन गर्नुपर्ने धारणा राखेका थिए । संविधान निर्माणमा मधेसका मुद्दालाई प्राथमिकतामा राख्न पनि कोइरालासँग ठाकुरले आग्रह गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले भने संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुगेपछि राजनीतिक स्थायित्व हुने भएकाले सहयोगका लागि दुबै नेतासँग आग्रह गरेका थिए । – IMAGEKHABAR