काठमाडौं- नयाँ संविधान २०७१ माघ ८ गतेभित्र सार्वजनिक गर्नेगरी कार्यतालिका निर्माण भएको छ। बिहीबार बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा २०७१ माघ ८ गतेभित्रै नयाँ संविधान जारी गर्नेगरी कार्यतालिका बनाएको हो।
‘२०७१ माघ ८ गतेभित्रै नयाँ संविधान जारी गर्ने प्रस्ताव समितिमा प्रस्ताव भएको छ,’ संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, ‘राजनीतिक दलबीच सहमति हुनेबितिकै सोही मितिलाई अनुमोदन गरिनेछ।’ उनका अनुसार कार्यव्यवस्था समितिले निर्णय गरी संविधान सभा बैठकमा पेस गर्नेछ।
समितिले कात्तिकभित्रै नयाँ संविधानको मस्यौदा बनाउने कार्यतालिकासमेत तयार पारेको छ। समितिले तयार पारेको प्रस्तावमा आगामी वैशाख १५ गतेभित्र विषयगत समितिका सभापतिहरु छानिसक्ने उल्लेख छ।
यसरी निर्माण गरिएको कार्यतालिकाको औपचारिक घोषणा भोलि (शुक्रबार) बस्ने संविधान सभाको बैठकबाट अनुमोदन गराउने निष्कर्ष समितिले गरेको छ।
माघ ८ गते संविधान सभाको पहिलो बैठक बसेको थियो। प्रमुख राजनीतिक दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाएअनुसार समितिले माघ ८ गतेभित्र लक्षित गरेर प्रस्ताव गरेको हो। NAGARIKNEWS