चैत्र २१ । भारतको मुम्बईमा महिला पत्रकारलाई सामूहिक बलात्कार गर्ने तीनजना अभियुक्तलाई फाँसीको सजाय सुनाइएको छ । मुम्बईस्थित अदालतले अभियुक्त एक जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
गत डिसेम्बर महिनामा मुम्बईको परेल गाउँमा पुरुष साथीसँग रहेकी महिला पत्रकारलाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चारजना अभियुक्त विरुद्ध अदालतले आज फैसला गरेको हो । अभियुक्तहरुले महिला पत्रकारका पुरुष साथीलाई डोरीले बाँधी उनकै अगाडि महिलालाई सामूहिक बलात्कार गरेका थिए । महिला पत्रकारको बयानको आधारमा चारजना अभियुक्तहरु पक्राउ परेका थिए ।
एक अंग्रेजी पत्रिकाका लागि काम गरिरहेकी ती महिला पत्रकार बलात्कृत भएपछि भारतीय सञ्चारकर्मीले प्रदर्शन गरेका थिए । मुम्बई अदालतको यो फैसलाप्रति भारतीय महिलाहरुले खुशी व्यक्त गर्दै यस्तो हर्कत गर्नेहरुलाई आगामी दिनमा पनि फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।
घटनामा संलग्न पाँच अभियुक्त मध्ये एकजना नाबालिग भएका कारण उनको सुनुवाइ हुन बाँकी रहेको मुम्बई अदालतले जनाएको छ । – एजेन्सी