चैत्र २४ । भारतमा लोकसभाका लागि आजबाट पहिलो चरणको निर्वाचन शुरु भएको छ । १६ औं लोकसभाको निर्वाचनका लागि आज ६ सीटका लागि मतदान भएको छ । आज असमको पाँच र त्रिपुराको एक सीटका लागि मतदान हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।
नौं चरणमा हुने चुनाव सकिन पाँच साता लाग्ने छ । एक अर्ब २० करोड जनसंख्या रहेको भारतमा यस निर्वाचनमा ८० करोडभन्दा बढी मतदाताले मताधिकारको प्रयोग गर्ने छन् । विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मानिने भारतमा मतदानका लागि ३० हजार मतदान केन्द्र स्थापना गरिएको छ भने सुरक्षाका लागि एक करोड १० लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यो चुनावमा हिन्दूवादी दल भारतीय जनता पार्टी भाजपाको गठबन्धनले बढी सीट जित्ने प्रारम्भिक अनुमान गरिएको छ । भाजपाले कट्टर हिन्दूवादी छवी बनाएका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ भने कांँग्रेसबाट उपाध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको रुपमा हेरिए पनि औपचारिक घोषणा गरिएको छैन ।
अर्कातिर दिल्लीबाट भ्रष्टाचारविरुद्धको मुद्दालाई उठाएर चर्चामा आएको अरविन्द केजरीवालको आम आदमी पार्टीको भविष्य पनि यस निर्वाचनले तय गर्ने देखिएको छ । भाजपाले २ सय ५० क्षेत्रमा र काँग्रेसले १ सय २३ क्षेत्रमा विजय हासिल गर्ने अनुमान गरिएको छ ।
यसपटक भाजपाले संसदमा स्पष्ट बहुमत प्राप्त गर्न चाहिने २ सय ७२ जना सांसदको समर्थन सक्ने अनुमान गरिएको छ । सन् १९८० मा गठन भई सन् १९८४ को चुनावमा पहिलो पटक सहभागिता जनाएको भाजपाले त्यस चुनावमा देशभरबाट जम्मा दुई सीट मात्र जितेको थियो ।
त्यसयता क्रमशः भारतीय राजनीतिमा पकड जमाउँदै आएको भाजपाले नेता अटलविहारी वाजपेयीको नेतृत्वमा सन् ११९६ मा १३ दिन र १९९८ मा पाँच वर्ष सरकार चलाएको थियो । चुनावको नतिजा आगामी मे १६ मा सार्वजनिक हुनेछ । आन्ध्र प्रदेश, उडिसा र सिक्किममा भने लोकसभासँगै विधान सभाको पनि चुनाव हुँदैछ । AGENCIES