चैत्र २४ । अफगानिस्तानमा गत शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । अहिलेसम्मको मतगणनामा पूर्व विदेशमन्त्री अब्दुल्ला अब्दुल्ला अग्रपंक्तिमा रहेका जनाइएको छ ।
तीन जना उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा देखिएपनि अब्दुल्लाकापछि जालमई रसुल रहेका छन् । तालिबानको धम्कीलाई बेवास्ता गर्दै करिब ७० लाख मतदाताले मताधिकार प्रयोग गरेका थिए । आगामी अप्रिल २० सम्ममा मतगणना सकिएपनि परिणाम घोषणा भने मे महिनाको दोस्रो सातामा गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा जित्नेले सन् २००१ देखि सत्तामा रहँदै आएका राष्ट्रपति हमिद कारजाईको स्थान लिनेछन् । प्रतिष्पर्धामा पूर्व विदेश मन्त्री अब्दुल्ला अब्दुल्ला, जालमई रसुल र पूर्व अर्थमन्त्री असरफसहित आठ जना छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि उम्मेदवारले अफगानिस्तानमा ५० प्रतिशत भन्दा बढी मत ल्याउनैपर्ने व्यवस्था रहेको छ । यदि कसैले पनि सो मत ल्याउन नसके बढी मत ल्याउने दुई उम्मेदवारबीच आगामी मे २८ मा अर्को चरणको मतदान हुनेछ । (एजेन्सी)