काठमाडौं, चैत्र २६ । आज चैत्र २६ । नेपाली राजनीतिक क्यालेण्डरमा आजको दिनलाई जनताले जितेको दिनका रुपमा लिइन्छ । २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सबै जनता एकजुट भएर गरेको संघर्ष सफल भएको दिन हो, आज । त्यही सफलताले राजाले आफूमा निहीत अधिकार जनतामा बाँड्न बाध्य भएका थिए ।
देशमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना गर्न राजा बाध्य भए । जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालासहितको सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले २०१७ साल पुस १ मा देशमा निर्दलीय पञ्चायती व्यवस्था लादेका थिए ।
त्यसविरुद्ध ३० वर्ष लामो संघर्षपछि २०४६ सालमा नेपाली कांग्रेस र कम्युनिष्टहरुको सहकार्यबाट देशमा प्रजातन्त्र प्राप्ति भएको थियो । लौहपुरुष एवं जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा सम्पन्न आन्दोलनले देशमा प्रजातान्त्रिक संविधान दियो भने देश विकासमा निजी क्षेत्रलाई भित्र्याउँदै विश्व जगतमा आफ्नो अलग पहिचान पनि स्थापित गर्न थालेको हो ।
आन्दोलनकारी शक्तिसँगको छलफलमा देशमा बहुदलीय व्यवस्था स्थापना गरी संवैधानिक राजाको हैसियतमा बस्न राजा वीरेन्द्र सहमत भएपछि देशले नयाँ मोड लिएको थियो । यस दिनको सम्झनामा दलहरु र सरकारले औपचारिक कार्यक्रम नगरेपनि प्रधानमन्त्री सुशील कोइरालाले भने शुभकामना सन्देश दिएका छन् र उनले प्रतिवद्धताअनुसार निर्धारित समयमै संविधान बन्ने दावी गरे । प्रधानमन्त्री कोइरालाले हालसम्मका प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त हक अधिकारलाई नयाँ बन्ने संविधानमा लिपीबद्ध गरिने विश्वास दिलाएका छन् ।
मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गरी देश विकासको गति तीब्र बनाएर मुलुकलाई समृद्ध, जनतालाई सुखी र सम्पन्न बनाउन वर्तमान सरकार दृढ रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । IMAGEKHABAR