प्रधानमन्त्री सुशील कोइराला ७० हजारको पाँचतारे होटल कोठामा छाडेर सामान्य विच्छ्यौनामै

Sushil-HOme.jpg
पोखरा, चैत्र २७ – प्रधानमन्त्री सुशील कोइराला व्यवस्थापन गरिएको पाँचतारे होटलमा नगई कार्यकर्ताकै घरमा बास बसेका छन् । प्रधानमन्त्री भएपछि बिहिवार पहिलोपटक पोखरा आएका कोइराला फुलबारी रिसोर्टमा गरिएको आवास व्यवस्थापन रद्द गरेर स्थानीय अर्जनु कुँवरको घरमा बसेका हुन् । कोइराला प्रधानमन्त्री हुनु अगाडि पोखरा आउदा कुँवरकै घरमा बस्थे ।
पोखरा विश्व विद्यालयले प्रधानमन्त्रीका लागि फुलबारीमा कोठा बुक गरेर सुरक्षा ‘रेकी’ समेत भइसकेको थियो । कोइरालाले होटलमा राख्ने जानकारी पाउनासाथै आफु त्यहाँ नबसी कुँवरकहाँ नै बस्ने निर्णय गरेका थिए । आयोजक र सुरक्षा अधिकारीहरुले निजी घरमा समस्या हुने भन्दै होटलमै बस्न गरेको आग्रह कोइरालाले मानेनन् । उनले स्वकीय सचिव लक्ष्मण ढकालमार्फत कुँवरकहाँ बस्ने जानकारी मंगलवार नै पठाएका थिए ।
विश्व विद्यालयले प्रधानमन्त्रीको आवासका लागि फूलबारीको तीन कोठा बुक गरेको थियो । ‘प्रधानमन्त्रीले होटलमा बस्न नमानेपछी बुकिङ रद्द गरियो’, विश्वविद्यालय कुलपति कार्यालयकी उपप्रशासक रजनी केसीले कान्तिपुरसँग भनिन् ।
प्रधानमन्त्रीका लागि ‘स्वीट’ र अरु चार वटा ‘डिलक्स’ कोठा बुक गरिएको थियो । फूलबारी होटलले एक रातको ‘स्वीट’ को करिब ७० हजार (सात सय अमेरिकी डलर) तथा ‘डिलक्स’ को २५ हजार रुपैयाँ (दुई सय ५० अमेरिकी डलर) लिने गरेका छन् ।
‘अस्ती बिहानै लक्ष्मणले फोन गरेर प्रधानमन्त्री पोखरा आउने र मेरै घरमा बस्ने जानकारी गराए’ कुँवरले कान्तिपुरसँग भने, ‘पहिला बसेपनि प्रधानमन्त्री भएपछी सुरक्षा लगायत विविध कारणले मेरो घरमा बस्नु हुन्न होला भन्ने लागेको थियो ।’ प्रधानमन्त्रीका स्वकीय सविच र दुई जना सुरक्षाकर्मीसमेत चार जनामात्रै बस्ने खबर आएको कुँबरले भने ।
०४० सालदेखि नै यहाँ आएको बेला कुँवरको घरमा कोइराला बस्ने गरेका थिए । कोइराला कुँबरकहाँबाहेक कांग्रेसका अर्का नेता निर्मल कर्माचार्यकहाँ पनि बस्थे ।
कोइरालाको खानपान सुताइमा कुनै ठुलो व्यवस्थापन गर्न नपर्ने कुँबर दम्पत्ति बताउँछन् । सादा, नरम खानेकुरा र सामान्य विच्छ्यौना उहाँलाई मन पर्ने उनिहरुको अनुभव छ । कुँवरकी श्रीमती मिनाले प्रधानमन्त्री आउने दिनका लागि ल्याएको तरकारी देखाउँदै भनिन्, ‘लौ हेर्नुस् गोलभेंडा, मुला, काउली सधै हुन्छ । आज उहाँलाई मनपर्ने कागती थपेकी छु ।’ कोइरालालाई मासको दाल, पतेनाको अचार मनपर्ने उनले बताइन् । बिहान उठ्नासाथ तातोपानीमा आफैं कागती निचोरेर महसँग खाने कोइरालाको बानी भएको उनले सुनाइन् ।
लेकसाइडको भित्रपट्टी धेरै ठूला घरहरुको खोंचमा एकतले घर छ कुँवरको । सडक पनि साँघुरो भएकोले सुरक्षा अधिकारीहरुले केहि कठिनाई महसुस गरेका छन् ।
को हुन् कुँवर
पोखराको उत्तर पश्चिमी गाउँ ढिकुरपोखरी पुख्र्यौली घर भएका कुँवर कांग्रेसका सामान्य कार्यकर्ता हुन् । कांग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला पनि उनकै घरमा बस्थे । ०४२ सालमा कांग्रेसको पश्चिमाञ्चल सम्मेलन उनकै घरमा भएदेखि यो परिवार पछिल्लो पुस्ताको कांग्रेसिजनमा परिचित छ ।
६१ वर्षीय कुँवर ०४६ सालमा निर्माण व्यवसाय छाडेर सकृय राजनीतिमा आएका हुन् । दुई पटक कास्की कांगे्रसका सभापतिले उनलाइ उपसभापति मनोनित गरेका थिए ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र २७