प्रधानमन्त्री सुशील कोईरालाद्धारा प्रजातन्त्रलाई निषेध गरेर विकास सम्भव नहुने उल्लेख

प्रधानमन्त्री सुशील कोईरालाले प्रजातन्त्रलाई निषेध गरेर विकास सम्भव नहुने बताएका छन्। पोखरा विश्वविद्यालयको ११ औ दीक्षान्त समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री कोईरालाले प्रजातन्त्रका मुल्य र मान्यतालाई लत्याएर विकास सम्भव नरहेको बताए। उनले पुर्ण रुपमा प्रजातन्त्र बहाली भई शान्ति र स्थायित्व कायम भएमा देशमा विकासको मुल फुट्ने बताए। 
 
पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री कोईरालाले हाल मुलुकमा शैक्षिक जागरणले प्रश्रय पाएको भन्दै यस्तो शैक्षिक जागरण प्रजातन्त्रको खुल्ला उदार वातावरणले मात्र संभव भएको बताए। कोईरालाले बर्तमान सरकार जनतालाई सेवासुविधा दिने कुरामा अत्यन्त संवेदनशिल भएको बताउदै सेवाग्राहीलाई सेवा र सुविधा दिन नेपाल सरकारले भ्रष्टचार विरुद्ध शुन्य सहनशिलताको निति लिएको प्रष्ट पारे। 
 
कार्यक्रममा शिक्षा मन्त्री चित्रालेखा यादवले मानविय संसाधन र शिक्षा अन्योन्याश्रित भएको बताउदै शिक्षाको महत्व दिनप्रतिदिन बढ्दै गएको बताईन्। मन्त्री यादवले शिक्षाको विकास गर्न लिएको बहुविश्वविद्यालयको अवधारणाले निरन्तरता पाएको बताईन। यादवले सिमित श्रोत र साधनमा शिक्षाप्रणाली लागु गर्न परेपनि अन्य क्षेत्रको तुलनामा शिक्षाक्षेत्रमा दु्रतरुपमा विकास भईरहेको भन्दै खुशि ब्यत्क गरिन्। 
 
संस्कृतिविद् तथा कार्यक्रमका प्रमुख अतिथि डा.सत्यमोहन जोशीले शिक्षाप्रणालीमा लोक संस्कृतिको महत्व र विशेषतालाई  पनि समावेश गर्दे लानुपर्नेमा जोड दिए। पोखरा विश्वविद्यालयबाट करिब ३३ सय विद्यार्थी दीक्षीत  भएका छन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री सुशील  कोईरालाले विद्यार्थीहरुलाई  दीक्षीत गरेका हुन्। 
 
यस्तै लक्ष्मी विद्या पदकबाट ब्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने अनिता रानाभाट सम्मानित भएकी छिन्। ओसियम पदकबाट विज्ञान तथा प्रविधि संकायबाट स्नातक तहमा उच्च अंक ल्याउन  सफल अविनास बाँस्तोला सम्मानित भएका छन्। रानाभाट र बाँस्तोलालाई कुलपति तथा प्रधानमन्त्री शुशिल कोईरालाले गोल्ड मेडल र सम्मानपत्रले सम्मान गरेका थिए। यस्तै उपकुलपति उपाधि अबिनाश बाँस्तोला र प्रतिक्षा जोशी र कुलपति उपाधिबाट नित्या पाण्डे पुरस्कृत भएका छन्। 
 
हालसम्म पोखरा विश्वविद्यालयबाट ८ हजार ६ सय १२ जना दीक्षीत भैसकेका छन्। प्ाोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्बाट ४८ वटा कार्यक्रमहरु स्किृत भएपनि हाल ४४ कार्यक्रमहरु संचालनमा रहेका छन्।  
– SETOPATI