चैत्र २९ । ईरानले संयुक्त राष्ट्रसंघका लागि राजदूतमा सिफारिश गरिएका व्यक्तिलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । आफ्ना नागरिक हामिद अबुतालेबीलाई ईरानले राष्ट्रसंघका लागि राजदूतमा नियुक्त गर्न सिफारिश गरेको थियो ।
तर अबुतालेबी सन् १९७९ मा तेहरानमा अमेरिकी दूतावास घेरेर दर्जनौं व्यक्तिलाई बन्धक बनाउने गूटमा आवद्ध रहेको भन्दै अमेरिकाले भिसा दिन नमानेको हो । ईरानले भने अमेरिकी निर्णय दुःखद भन्दै यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको प्रतिक्रिया दिएको छ ।
अमेरिकी निर्णयसँगै अब अबुतालेबीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने छैनन् । यसअघि अमेरिकाको दुबै सदनले अबुतालबीलाई अमेरिकाको प्रवेशाज्ञा दिन नहुने पक्षमा मतदान गरेको थियो ।
अबुतालेबी आफ्नो देशका अत्यन्त अनुभवी कूटनीतिज्ञ भएकाले निर्णय फेरबदल नहुने ईरानले प्रष्ट गरेको छ । स्वयं अबुतालेबीले भने अमेरिकी दूतावास घेर्ने विषयमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारिसकेका छन् ।
सन् १९७९ मा ईरानी विद्यार्थीहरुले अमेरिकी दूतावास घेरेर ५२ जना अमेरिकी नागरिकलाई ४ सय ४४ दिनसम्म बन्धक बनाएका थिए । यसअघि राष्ट्रसंघका लागि मनोनित गरिएका कुनैपनि व्यक्तिको भिसा अमेरिकाले रोक्ने नगरेको पनि खबरमा उल्लेख छ ।
– AGENCIES