एमालेका झलनाथ खनालद्धारा वैद्य नेकपा-माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भएको गम्भीर आरोप

काठमाडौं, चैत्र २९ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वैद्य नेतृत्वको नेकपा-माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भएको गम्भीर आरोप लगाएका छन् । ललितपुरमा प्रेस चौतारी नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दे अध्यक्ष खनालले नेकपा-माओवादीले देशभर पैसा लिएर कांग्रेसलाई भोट दिएको आरोप लगाए ।


उनले माओवादीले वर्गीय सोंच ख्याल राखेर आफ्नो पार्टीलाई भोट हालेको भए या बहिष्कार गरेको भए एमाले पहिलो पार्टी हुने दाबी गरे ।


खनालले माघ ८ गते संविधानसभाको पहिलो बैठक बसेको एक वर्षभित्र संविधान जारी गरिने पनि बताए ।


मन्त्रिपरिषदबाट मनोनीत गरिने २६ सभासदमा एक जना पत्रकारिता क्षेत्रको व्यक्तिलाई स्थान दिलाउन आफूले पहल गर्ने वचन उनले दिए । उनले नयाँ संविधान प्रेसमैत्री बन्ने दाबी पनि गरे ।


यस्तै, एमाले नेता प्रदीप ज्ञवालीले पत्रकारिता क्षेत्रलाई अझै व्यवसायिक बनाउन जरुरी रहेको बताए । उनले पत्रकारहरु राजनीतिक प्रभावमा भन्दा पनि पेसागत एजेण्डामा केन्द्रित हुनुपर्ने बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले आलोचक, व्यवसायिक र बलियो प्रेसको विकास गर्नुपर्नेमा जोड दिए ।


प्रेस चौतारीको भेलाले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा डा. महेन्द्र विष्टलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

महासंघको महाधिवेशन वैशाख २० गते काठमाडौंमा हुँदैछ । IMAGEKHABAR