काठमाडौं, वैशाख १ – प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल प्रजातान्त्रिक अधिकारसहित संघीयता र गणतन्त्रजस्ता महत्त्वपूर्ण उपलब्धि संस्थागत गर्ने संविधान जारी हुने ऐतिहासिक वर्ष बन्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले आइतबार नयाँ वर्षका अवसरमा स्वदेश तथा विदेशका नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् । उनले नयाँ वर्ष विकास निर्माण र आर्थिक उन्नतिको कार्य अगाडि बढाउने प्रस्थानबिन्दु हुने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले वर्तमान सरकार र संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरू लोकतान्त्रिक संविधान निर्माणमा इमानदारीपूर्वक लागेको जनाएका छन् । उनले यस्तो बेला सबै नेपालीलाई धैर्य र उत्साहका साथ आफ्नो र मुलुकको भविष्य सुनिश्चित गर्ने संविधान निर्माणमा सघाउन अपिल गरेका छन् ।
शुभकामना मन्तव्यमा प्रधानमन्त्रीले अबदेखि शासन र प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्तीरहित, भ्रष्टाचारमुक्त, सदाचारयुक्त र नागरिकमुखी बनाउने वाचा गरेका छन् । उनले नयाँ वर्षले सबै समुदायबीच सद्भाव, सहकार्य, एकता र मेलमिलापको वातावरण बनाउन सहयोग पुर्याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख १