काठमाडौं- एनेकपा माओवादीले फुजेल घटनामा मुद्दा चलाएको भन्दै तीन दलको बैठक बहिस्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एनेकपा माओवादीको बैठक आज बालुवाटारमा बसेको थियो।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गरिनुपर्ने मुद्दालाई अदालत पुर्याएर षड्यन्त्र गर्न खोजेको बताएका थिए। सरकारले फुजेललगायत द्वन्द्वको समयका घटनामा पक्राउ गरिएकालाई रिहा गरिनुपर्ने र मुद्दा चलाइएकाहरुको मुद्दा फिर्ता गरिनुपर्ने अडान उनले राखेका थिए।
‘फुजेल घटनामा मुद्दा चलाइएकाहरुको मुद्दा फिर्ता गरेर सरकारले माफी नमागेसम्म कुनै पनि बैठकमा सहभागी हुँदैनौं” दाहाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव चुडामणि खड्काले भने, ‘उता सत्य निरुपण आयोगको विधेयक पेश गर्ने, यता पक्राउको नाटक गर्ने ?’ करिब १० मिनेट बैठकमा आफ्नो भनाइ राखेपछि प्रधानमन्त्री निवासमा रहेको क्याबिनेट बैठक कक्षबाट दाहालसहित एमाओवादीका नेताहरु बाहिरिएका थिए।
एमाओवादीका पूर्व पदाधिकारीहरुसहित प्रधानमन्त्री निवास पुगेका दाहालले फुजेल घटनामा समातिएकाहरुलाई तुरुन्त नछोडिए सदन र सडक ठप्प पारिने चेतावनीसमेत दिएका थिए। तीन दल बैठकमा जानुअघि अध्यक्ष दाहाल निवास लाजिम्पाटमा एमाओवादीका पूर्व पदाधिकारी बैठक बसेको थियो। – NAGARIKNEWS